पोखरामा जारी ब्याडमिन्टनको आइतबार क्वाटरफाइनलसहित फाइनल खेल हुँदै

-


     पोखरा क्लिक     
     फागुन २ गते २०८२ मा प्रकाशित


पोखरा, २ फागुन

पर्यटनको राजधानी पोखरामा शुक्रबारदेखि सुरु भएको पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ अन्तर्गत आज विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरूसहित समापन हुने भएको छ।

मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोर्ट्सप्लेक्सको आयोजनामा पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोर्ट्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ।फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले शनिबार पनि विभिन्न चरणका खेलहरू जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

अन्डर–१५ राष्ट्रिय च्याम्पियन निभा राई, अन्डर–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचनलगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ।

प्रतियोगिताले विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। आइतबार हुने क्वाटरफाइनलपछि सेमिफाइनल र फाइनल खेल सम्पन्न भई विजेताको टुंगो लाग्नेछ। आयोजकका अनुसार प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ र फाइनल खेलमा दर्शकको उल्लेखनीय उपस्थितिको अपेक्षा गरिएको छ।