
दीननाथ बराल,
पोखरा, २१ माघ,
पर्यटनको राजधानि पोखरामा आउदो फागुन २ गते (शनिबार) आयोजना हुने २० औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता सहितका अन्य विभिन्न विधामा १७ देशका धावकहरु सहभागि हुने भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने उक्त प्रतियोगितामा हालसम्म नेपाल सहित १७ देशका महिला तथा पुरुष धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउदै उहाँले यही माघ २४ गतेसम्म म्यारथन सहितका विभिन्न विधामा सहभागि हुने खेलाडीहरुले आफ्नो इच्छा भएको विधामा नाम दर्ता गराउन सक्ने जनाउनु भयो । ‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको म्याराथन पोखरा रंगशालाबाट सुरु भई पोखराको विभिन्न रुट हुदै लेकसाइडमा समापन हुनेछ । नेपालकै प्रतिष्ठित दुग्धजन्य उत्पादन संस्था सुजल डेरी प्रा.लि.को ‘सफल दूध’ यस प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । मुख्य म्याराथनतर्फ प्रथम हुने धावकले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यसैगरी दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न ‘गण्डकी उत्कृष्ट’ विधाको व्यवस्था गरिएको छ भने यसै संस्करणदेखि ‘म्याराथन नेपाल’ विधा पहिलो पटक समावेश गरिएको आयोजकले जनाएको छ। मुख्य म्याराथनसँगै महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र–छात्रा दौड, ४५ वर्षमाथिको भेट्रान दौड, ह्विल चियर तथा दृष्टिविहीन दौड समेत प्रतियोगितामा समावेश छन्। यी सबै विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। म्याराथनसहित २१ विधामा वितरण गरिने पुरस्कारका लागि मात्रै करिब १९ लाख ८९ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
अध्यक्ष गुरुङका अनुसार खेल पर्यटन प्रवद्र्धन तथा सबै उमेर समूहलाई दौडमा सहभागी गराउने उद्देश्यका साथ आमा समूह, कर्पोरेट क्षेत्र तथा ८० वर्षसम्मका धावकलाई लक्षित विधाहरू समेत समावेश गरिएको हो। उहाँका अनुसार खेलाडीहरूले माघ २४ गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। हालसम्म ४२ किलोमिटर खुला म्याराथनमा विदेशी सहित १ सय १० जना धावक दर्ता भइसकेका छन् । पोखराको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको यस म्याराथनले खेलकुद पर्यटनको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पूर्व अध्यक्ष तेज बहादुर गुरुङले जनाउनु भयो । १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुयोटले जित्नु भएको थियो । उहाँले निर्धारित दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पार गर्नु भएको हो ।




