
दीननाथ बराल,
पोखरा, २१ माघ,
बंगलादेश र भारत साफ महिला यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको फुटवल मैदानमा आज(बुधबार) भएको खेलमा बंगलादेश र भारतले जित हासिल गर्दै शनिबार उपाधिको लागि प्रतिष्प्रर्धा गर्ने भएको अखिल नेपाल फुटवल संघले पोखराक्लिकलाई जनाएको छ ।
राउण्ड रोविनका आधारमा बंगलादेश शिर्ष स्थानमा हुदै लगातार ३ खेलमा जित हासिल गर्दै ९ अंक सहित फाइनलमा यात्रा तय गर्दा भारतले ३ खेल मध्य २ खेलमा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ शिर्ष दोश्रो हुदै फाइनलमा यात्रा बनाएको हो । आज भएको पहिलो खेलमा भारतले भूटानलाई एकतर्फी ८—० को गोल अन्तरले पराजित गर्दै दोश्रो खेलमा घरेलु टिम नेपाललाई बंगलादेशले ४—० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । भारतको जितमा पर्ल फर्नान्डेजले ह्याट्रिक, प्रितिका वर्मनले दुई, अलिसा लिङ्ग्दोह, अभिष्टा बस्नेतले र दिव्यानी लिन्डाले एक एक गोलको योगदान दिनुभयो । बंगलादेशको जितमा अपि अख्तरले ह्याट्रिक पूरा गर्दा प्रोटिमा मुन्डा ले एक गोलको योगदान दिनुभयो । भूटान र नेपालले पाएका केही अवसरलाई सदुपयाग गर्न नसक्दा एक गोल पनि फर्किउन सकेनन ।
नेपाल सहित ४ देश सहभागि प्रतियोगितामा राउण्ड रोविनका आधारमा उक्त खेल भएको हो । बंगलादेशले यस अघि भारतलाई पराजित गरेको थियो । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो। । बंगलादेश प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेको हो । नेपालले भुटानलाई २–१ ले पराजित गरी एक खेलमा मात्र जित हासिल गरेको थियो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।नेपाल अंक तालिकामा ३ अंक सहित तेश्रो र भूटान अंक विहिन हुदै चौथौ स्थानमा रहेको छ । अखिल नेपाल फुटवल संघको आयोजनामा यही माघ १७ गतेदेखि उक्त प्रतियोगिता पोखरामा सुरु भएको हो । उक्त प्रतियोगिताको साविक बंंगलादेश र भारत च्याम्पियन हुन् । निर्धारित समय, अतिरिक्त र टाईब्रेकरमा पनि खेल बराबरीमा पुगेसंगै दुबै देशलाई शीर्ष स्थानमा रहेको घोषणा गरिएको थियो ।




