
पोखरा,
पोखरा–२२ को परिवर्तन युवा क्लबको आयोजनामा आउँदो फागुन ७ गतेदेखि दोस्रो त्रिभुवन स्मृति कप ५ ए साइड फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । खेलकुदको विकास सहित खेलाडी उत्पादन गर्ने उद्धेश्यले क्लवले दोस्रो सस्करणको उक्त प्रतियोगिता फागुन ९ गतेसम्म पोखरा २२ को सिम्लेपाखा खेलमैदानमा संचालन हुने तयारी गरिएको शनिबार पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

“समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताले खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै आपसी सद्भाव, आत्मीयता र भाइचारा विकास गर्ने लक्ष्य राखिएको क्लवले जनाएको छ । २०७३ सालमा स्थापना भएको परिवर्तन युवा क्लबले पोखरा महानगरपालिका–२२ भित्रका युवालाई समेट्दै खेलकुद, सामाजिक चेतना र सामुदायिक विकासका गतिविधि गर्दै आएको छ । क्लबले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई व्यक्तिको शारीरिक, मानसिक र बौद्धिक विकाससँग जोडिएको महत्वपूर्ण साधनका रूपमा लिएको जनाएको छ।
क्लबका अनुसार प्रतियोगिताले युवामा खेलप्रतिको आकर्षण बढाउने, लुकेका प्रतिभाको पहिचान गर्ने, दक्ष खेलाडी उत्पादन गर्ने तथा प्रतिस्पर्धामार्फत खेलाडी छनोट गरी विभिन्न प्रतियोगितामा सहभागिता गराउने लक्ष्य लिएको छ। खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउँदै सामाजिक एकता कायम गर्नु पनि प्रतियोगिताको प्रमुख उद्देश्य रहेको छ।प्रतियोगिताअन्तर्गत टिम दर्ता फागुन ६ गते बेलुका ५ बजेसम्म खुला रहनेछ। दर्ता शुल्क छ हजार रुपैयाँ तोकिएको छ भने कार्यक्रम संयोजक सुदिप बरालमार्फत टिम दर्ता गर्न सकिनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद असी हजार पाँच सय पचपन्न रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई नगद चालीस हजार पाँच सय पचपन्न रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विधागत पुरस्कार प्रदान गरिनेछ। खेल अखिल नेपाल फुटबल संघ को नियमअनुसार सञ्चालन गरिने प्रतियोगिता क्षेत्रीय तथा राष्ट्रिय रेफ्रीद्वारा खेलाइनेछ। प्रत्येक टिममा अधिकतम आठ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ भने राष्ट्रिय खेलाडी तथा ए डिभिजन खेलेका खेलाडीलाई प्रतियोगितामा सहभागी हुन नदिइने आयोजकले जनाएको छ।
यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा स्व.पौडेलको आदर्शलाई पछ्याउँदै समाजमा सकारात्मक योगदान पु¥याइरहेका युवालाई सम्मान गर्ने तयारी गरिएको छ। यसका लागि घोषणा गरिने क्लबले जानकारी दिएको छ।त्यसैगरी प्रतियोगिताको अवसरमा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा फागुन ७ गते एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा रक्तचाप, मधुमेह, हृदय परीक्षण, सामान्य उपचार तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। वृद्ध, अशक्त तथा अपाङ्ग व्यक्तिहरूका लागि विभिन्न उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ, जुन सुविधा क्लबमार्फत अन्य दिनहरूमा पनि लिन सकिने क्लबले पोखराक्लिकलाई जनाइएको छ।
प्रतियोगिताका लागि एशियन कन्क्रिटो टाइटल स्पोन्सर रहेको छ भने एसके साउन्ड पोखरा साउन्ड पार्टनर, पोखरा इन्टरनेट इन्टरनेट पार्टनर तथा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। स्वास्थ्य सहकार्यमा रहेको छ। साथै नगर युवा परिषद्, स्थानीय सरकार, प्रदेश सरकार तथा अन्य सहयोगी संस्थाको पनि सहकार्य रहेको क्लबले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहयोगी संस्था, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
युवा क्लबका अध्यक्ष सुदिप बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरस्वती बराल, सचिव दक्षिणा बराल, सह—सचिव प्रेरणा ढकाल, लगायले खेलकुदको बारे. चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, स्व.पौडेलका धर्मपत्नी प्रतिभा अधिकारी, दाजु उत्तम पौडेल, मिक्स मार्शल आर्ट्स एसोसिएसन गण्डकी प्रदेशका सचिव निर्दोष विक्रम पौडेल लगायतकाको उपस्थिति रहेको थियो।




