कास्कीमा लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु, युवालाई लक्षित सचेतना र नियन्त्रणात्मक कार्यक्रम सञ्चालन

-


     पोखरा क्लिक     
     असार ६ गते २०८३ मा प्रकाशित


पोखरा, असार ६,

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार बढ्दो सामाजिक चुनौतीका रूपमा देखा परिरहेका बेला कास्कीमा यसको नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि सप्ताहव्यापी अभियान सुरु गरिएको छ। “लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं” भन्ने मूल नारासहित सुरु भएको अभियानअन्तर्गत युवालाई केन्द्रमा राखेर विभिन्न सचेतनामूलक तथा नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गरिने भएका छन्।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा तथा असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रको समन्वयमा अभियानको शुभारम्भ गरिएको हो। पोखरा महानगरपालिका–१, सिमपानीस्थित पुनर्स्थापना केन्द्रमा आयोजित कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा पुनर्स्थापनामा रहेका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लागुऔषधमुक्त समाज निर्माण आजको प्रमुख आवश्यकता भएको बताउँदै परिवार, विद्यालय र स्थानीय प्रशासनबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले लागुऔषध प्रयोगकर्तालाई बहिष्कार गर्ने होइन, उपचार, परामर्श र पुनर्स्थापनामार्फत समाजको मूलधारमा फर्काउनुपर्ने धारणा राख्नुभयो।

“लागुऔषध प्रयोगकर्ताप्रति घृणा होइन, सहयोग र पुनर्स्थापनाको भावना आवश्यक छ,” उहाँले भन्नुभयो, “घरपरिवार, समुदाय र राज्यका निकायहरूबीचको सहकार्यले मात्रै समस्याको दीर्घकालीन समाधान सम्भव हुन्छ।” ले लागुऔषध दुर्व्यसन, ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि सबै पक्षको सामूहिक ऐक्यबद्धता अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार असार ६ देखि १२ गतेसम्म समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, अभिमुखीकरण तथा निगरानीसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले युवामा बढ्दो लागुऔषध दुर्व्यसनको जोखिमप्रति सचेत गराउँदै यसको सामाजिक, आर्थिक तथा मानसिक असरबारे जानकारी दिनुभयो। उहाँले जोखिम न्यूनीकरणका लागि समुदायमा आधारित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। असल छिमेकी नेपाल नवजीवन पुनर्स्थापना केन्द्रका अध्यक्ष मुक्तिनाथ ढकालले केन्द्रमा हाल १२ जना महिला तथा किशोरीहरु रहेको बताउनु भयो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर २४ का सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीकी अनुसन्धान अधिकृत सरस्वती पाण्डे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले लागुऔषधमुक्त समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।