कास्की–२ बाट उज्यालो नेपाल पार्टीका कुशल गुरुङको उमेदवारी दर्ता

-


     पोखरा क्लिक     
     माघ ६ गते २०८२ मा प्रकाशित


पोखरा

ऊर्जा तथा जलवायु क्षेत्रका विज्ञ कुशल गुरुङले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका छन ्। ऋाज (मंगलबार) माघ ६ गते उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट मनोनयनपत्र दर्ता गराएका हुन्।

उज्यालो नेपाल पार्टीका अभियन्ता समेत रहेका गुरुङ समर्थक तथा शुभेच्छुकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । लामो समयदेखि ऊर्जा क्षेत्र, हरित विकास र वातावरण संरक्षणमा सक्रिय गुरुङले आर्थिक समृद्धि र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले नीति निर्माण तहमा पुगेर देशलाई “आर्थिक रूपमा उज्यालो” बनाउने लक्ष्य रहेको प्रतिकृया बताए। “उज्यालो नेपालको अभियानमार्फत देशलाई अँध्यारोबाट मुक्त गर्न योगदान ग¥यौँ, अब नीति निर्माण तहमा पुगेर आर्थिक रूपान्तरणमा योगदान गर्न चाहन्छु,” उनले भने।
परम्परागत राजनीतिबाट जनता निराश भइसकेको उल्लेख गर्दै उनले यसपटक कास्कीका मतदाताले विकासप्रेमी, स्पष्ट भिजन भएको र सक्षम उमेदवार रोज्ने विश्वास व्यक्त गरे। पोखराको पर्यटन प्रवद्र्धन, हरित ऊर्जाको विकास र रोजगारी सिर्जना आफ्ना प्रमुख प्राथमिकता रहने उनको भनाइ छ ।

प्रतिस्पर्धात्मक कास्की–२
कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा विभिन्न दल तथा स्वतन्त्रसहित १८ जनाको उमेदवारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत दीपक गिरीले पोखरा क्लिकलाई जानकारी दिए । प्राविधिक कारणले दुई जनाको नाम हाल सिस्टममा नदेखिएको र केही समयपछि अद्यावधिक हुने उनले बताए। यस क्षेत्रमा ५ जना स्वतन्त्र उम्मेदवार छन्।

कास्की–२ मा नेकपा एमालेबाट रश्मि आचार्य, नेपाली कांग्रेसबाट मधु बास्तोला, नेकपाबाट हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजंग गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल तथा स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारी लगायतले मनोनयन दर्ता गराएका छन ्।