
दीननाथ बराल,
पोखरा, १ माघ,
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा विहिबार पोखरा–१७ ढुंगेसाँघुमा आयोजना गरिएको महानगरस्तरीय चौथो बृहत् कन्दमुल प्रदर्शनीमा २७ थरीका कन्दमुल प्रदर्शन गरिएको छ । परम्परागत माघे सङ्क्रान्ति मेला (हार्ट बजार)को अवसरमा आयोजित उक्त कार्यक्रममा पोखराका विभिन्न वडाका कन्दमुल व्यवसायीक किसानले उत्पादन गरेका २७ थरिका कन्दमुल प्रदर्शनी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई जानकारी दिनुभयो ।
माघे सङ्क्रान्तिको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमुल कारोबार भएको उहाँले दाबी गर्नुभयो । धार्मिक, सांस्कृतिक र कृषि जैविक विविधताको संरक्षणसँग जोडिएको उक्त मेला तथा प्रदर्शनी चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा बिहीबार आयोजना गरिएको हो। पोखरा–१७, २२, २१, २३ र १३ नम्बर वडाका कन्दमुल व्यवसायी किसानहरूले उत्पादन गरेका घर तरुल, वन तरुल, गिठा, भ्याकुर, सिमल तरुल, पिँडालु र सखरखण्डल गायत २७ थरीका कन्दमुल प्रदर्शनीमा राखिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।
“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा, संरक्षण, उपभोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने नारासहित आयोजित कार्यक्रममा धेरै प्रकारका कन्दमुल उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको कडरियाले उल्लेख गर्नुभयो । उहाँका अनुसार यस वर्ष पोखरामा करिब १ सय ३० टन तरुल र करिब ८० टन सखरखण्ड भित्रिएको छ। प्रतिकिलो ५० देखि २ सय रुपैयाँसम्म कन्दमुल बिक्री भए पनि औसत प्रतिकिलो ७५ रुपैयाँका दरले गणना गर्दा माघे सङ्क्रान्तिको अवसरमा मात्रै पोखरामा करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमुल कारोबार भएको छ।
कन्दमुल प्रदर्शनी प्रतियोगितामा १७ प्रकारका तरुल, गिठा र भ्याकुर प्रस्तुत गरेका पोखरा–१७ महतगौंडाका शंकर आचार्य प्रथम भई उत्कृष्ट कन्दमुल व्यवसायी घोषित हुनुभयो । उहाँलाई पोखरा–१७ की वडाध्यक्ष राधिका शाही योगीले नगद ५ हजार रुपैयाँसहित सम्मान प्रदान गर्नुभयो। प्रतियोगितामा पोखरा–२२ का प्रदीप ढकाल द्वितीय (३ हजार रुपैयाँ) पोखरा–२२ कै देवीलाल बराल तृतीय (२ हजार रुपैयाँ) भए भने पोखरा–२१ का गणेशप्रसाद पराजुली, पोखरा–२३ का उपेन्द्रप्रसाद पराजुली र पोखरा–१७ का मात्रिकाप्रसाद भण्डारी सान्त्वना स्थानमा रहेर जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदीप खतिवडाले यस्ता प्रदर्शनीले वास्तविक किसानलाई कन्दमुल खेतीतर्फ आकर्षित गर्नुका साथै जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने बताउनु भयो । कृषि बागवानी केन्द्र कास्कीले पनि केन्द्रमा उत्पादन भएका पिँडालु, तरुल लगायतका विभिन्न बालीहरूको प्रदर्शनी गरेको थियो। माघे सङ्क्रान्तिको धार्मिक महत्वसँग जोडिएको ढुंगेसाँघु मेला बिहीबार बिहानैदेखि बेलुकासम्म धुमधामका साथ सञ्चालन भयो। गण्डकी क्षेत्रमा मकर सङ्क्रान्तिको अवसरमा स्नान गर्ने, कन्दमुल प्रदर्शन र बिक्री गर्ने परम्परागत मेलामा दशौं हजार दर्शनार्थीको उपस्थिति रहेको स्थानीयले बताएका छन्। मेलामा कन्दमुलका साथै फलफूल, तरकारी, हस्तकलाका सामग्री, परम्परागत हातहतियार (दाउ, खुकुरी,, डोको, नाम्लो, नाङ्लो, भकारी, लत्ताकपडा तथा विविध परिकारहरूले दर्शकलाई आकर्षित हुनु भएको थियो । परम्परागत बाजागाजा, वरपर सञ्चालन भएका खेलकुद प्रतियोगिता र पछिल्लो समय सितापाइला–ढुंगेसाँघु क्षेत्रमा बढ्दो शहरीकरणका कारण सडक क्षेत्रमा बिहानदेखि बेलुकासम्म अत्यधिक भिड देखिएको थियो। स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा मेलाको आकर्षण झनै बढ्दै गएको छ।




