
पोखरा, १८ पुस,
पोखरामा आजदेखि लगातार चार दिनसम्म बिहानको समयमा बिजुली कटौती हुन सुरु भएको छ । पोखरामा आज बिहान ६ः०० बजे देखि ११ः०० बजेसम्मको लागि दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुन सुरु भएको छ । यही पुस २१ गतेसम्म यो क्रम जारी रहने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा ‘बसबार’ स्तरोन्नति तथा मर्मत कार्य सुरु भएकाले बिहान ६ बजेदेखि ११ बजेसम्म पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने प्राधिकरणले पोखराक्लिकलाई जनाएको छ । पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चार दिनसम्म सो समयावधिमा कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन गरिनेछ ।
कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मतका लागि प्राधिकरणले यसअघि नै ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य सुरु गरिएको हो । पोखरा वितरण केन्द्रका अनुसार पोखरा प्रवेशद्वार विजयपुरदेखि हरिचोकसम्मको सम्पूर्ण बजार तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ । सबस्टेशनको बसबार मर्मत कार्य सम्पन्न भएपछि भने नियमित रूपमा विद्युत् आपूर्ति पुनः सञ्चालन हुने केन्द्रले उल्लेख गरेको छ ।




