पोखरामा आधुनिक (बिद्युतीय) शवदाह गृह निर्माण भएको दुई बर्षदेखि संचालनमा आउन सकेन

-


     पोखरा क्लिक     
     पौष १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १, पुष,

पोखरा १० रामघाटमा निर्माण भएको आधुनिक (बिद्युतीय) शवदाह गृह विगत दुर्ई बर्षदेखि अलपत्र अबस्थामा रहेको छ । करिब १४ करोड १३ लाख ५० हजार लागतमा दुई बर्ष अघि निर्माण सम्पन्न भएपनि हालसम्म त्यसको प्रयोग नहुँदा अलपत्र अबस्थामा रहेको स्थानियले गुनासो गरेका छन् ।

पोखरामा दुई बर्ष अघि निर्माण कार्य सम्पन्न भएको विद्युतीय शवदाह गृह हालसम्म संचालनमा नआउदा अलपत्र अबस्थामा रहेको पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले बताए । पोखराको रामघाटमा निर्माण भएको विद्युतीय शवदाह गृह तत्काल कार्यविधि बनायर संचालन गर्न उनले माग गरे । स्थानीय बौद्ध अघौ सदनले उक्त विद्युतीय शवदाह गृह संचालन गर्न माग गर्दै आएको अबस्थामा निश्चित मापदण्ड सहितको कार्यविधि बनायर संचालन गर्न दिदा यसबाट धेरैलाई लाभ हुने अध्यक्ष गुरुङले जनाए ।

उक्त विद्युतीय शवदाह गृह संचालन गर्नको लागि सदनले निवेदन समेत दिएको अबस्थामा महानगरले कुनै पनि कदम अघि नबढाएका कारण हाल उक्त विद्युतीय शवदाह गृह वरपर झारपात पलाएको र अलपत्र अबस्थामा रहेको अध्यक्ष गुरुङले जनाए । वातावरणमैत्रि विद्युतीय शवदाह गृह विगत दुई बर्ष देखि अलपत्र अबस्थामा हुनुले आफुहरु पनि त्यसबाट लज्जित भएको उनले जनाए । कुनै पनि बिद्युतीय साधनहरु नियमित प्रयोग र संचालन नगर्दा बिग्रिने उत्तिकै सम्भवना रहेको अध्यक्ष गुरुङले जनाए । पोखरामा हिजोआज दैनिक जसो पोखराको तुल्सीघाट, रामघाट क्षेत्रमा करिब ५,६ वटा शव दाउरामा जलाइदै आएका छनु । पानी पर्दा शव जलाउन धेरैलाई कठिन हुने हरेक शव दहन गर्दा वातावरणमा समेत प्रदुषण हुने हुदा बिद्युतीय शवदाह गृह निर्माण गरिएको हो । आधुनिक शवदाह गृह १० रोपनी क्षेत्रमा फैलिएको छ भने भवनभित्र तीनवटा दहन मेसिन राख्ने ठाउँ भए पनि अहिले दुईवटा मात्र जडान गरिएको बताइएको छ । अन्तिम श्रद्धाञ्जली दिने कक्ष, हिन्दु धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा समेत परिसरमा निर्माण गरिएको छ ।

एक मेसिनले ४५ मिनेटदेखि एक घन्टाभित्र एउटा शव दहन गर्ने निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले बताए । दहन गर्दा निस्कने धुवाँ र तापलाई प्रशोधन गरी ३० मिटर उच्च चिम्नीमार्फत बाहिर पठाइने भएकाले वरपर धुवाँ वा गन्ध नदेखिने कम्पनीले दाबी गरेको छ । सहरी विकास मन्त्रालयको पहलमा बनेको उक्त संरचनाको निर्माण २ बर्ष अघि निर्माण भएको हो । दुई बर्ष अघि परीक्षणमा दुई वटा शव करिब ४५ मिनेटमा दहन गरिएको थियो । हाल सेती किनारका रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाट लगायतका घाटमा परम्परागत शैलीमा दाहसंस्कार हुँदै आएको छ । केही वर्षअघि शान्तिघाटमा निर्माण गरिएको दाउरा र बिजुली दुवै प्रयोग हुने मिश्रित शवदाह गृह केही बर्ष देखि बन्द भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले आधुनिक, वातावरणमैत्री प्रविधिको आवश्यकता अनुसार विद्युतीय शवदाह गृह अत्यन्त आवश्यक रहेको बताउँदै, हस्तान्तरणपछि दक्ष जनशक्ति व्यवस्थापन सहित नियमित सञ्चालन गर्ने बताए पनि हालसम्म संचालनमा ल्याउन सकेका छैनन् ।

२०७३ सालमै ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कानुनी प्रक्रिया र कोभिड महामारीका कारण काम सुरु हुन ढिलो भएको थियो । सर्वोच्च अदालतले रोक नलगाउने आदेश दिएपछि २०७८ असोजबाट निर्माण कार्य तीव्र पारिएको थियो । दुई वर्षमै सकिनुपर्ने काम झन्डै सात वर्षपछि मात्र पूरा भएको हो । परम्परागत दाहसंस्कारमा एक व्यक्तिका लागि ३ सय किलोभन्दा बढी दाउरा लाग्ने भएकाले विद्युतीय दहन वातावरणमैत्री विकल्पका रूपमा देखिएको छ ।

शवदाह गृह निमार्ण कम्पनीले निमार्ण सम्पन्न गरी २०८० भदौं २० गते हस्तान्तरण गरेको थियो । निमार्ण कम्पनीले हस्तान्तरण गरेपछि विभागले परीक्षण लगायत अन्य सम्पूर्ण काम सकेर २०८१ वैशाख २० मा पोखरा महानरपालिकालाई भोकाधिकार सगै संचालनका लागि भन्दै हस्तान्तरण गरेको थियो । यसैबिच, पोखरा महानगरपालिकाले कार्यविधि बनायर उक्त शवदाह गृह संचालनमा ल्याउने प्रकृया अघि बढाएकोले ढिलाई भएको महानगरका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले बताए ।