पोखरामा शनिबार यःमरी प्रतियोगिता सहित महोत्सव हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १० मंसिर

नेवारी कला–संस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका–४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्की र नेवा खल कास्कीको सहकार्यमा पुरानो बजारस्थित गणेशटोल (नाला मुख) को सडक क्षेत्रमा एक दिने महोत्सव गर्न लागिएको आज (बुधबार)ं आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेवारी समुदायको परम्परा, खानपान र पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व पु¥याउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको पोखरा–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले बताउनु भयो । महोत्सवमा नेवारी परिकारका ६ वटा स्टलसहित अन्य स्थानीय तथा परम्परागत खानाका स्टलहरू पनि राखिने भएको छ । यःमरीको लोकप्रियता बढ्दै गएकाले यसपटक पर्याप्त मात्रामा यःमरी उत्पादन र बिक्रीका लागि पनि तयारी गरिएको वडा अध्यक्ष पराजुलीले बताउनु भयो ।

महोत्सवको मुख्य आकर्षणका रूपमा यःमरी प्रतियोगिता राखिएको छ, जहाँ करिब २१ समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा विजेताहरूलाई क्रमशः १५, १०, ६ र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । दर्शकका लागि चाकु भरिएको यःमरी ८० रुपैयाँ र खुवायुक्त यःमरी १०० रुपैयाँमा बिक्री गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । साथै विद्यालयस्तरीय नृत्य, गायन, नेवारी झाँकी प्रदर्शनी र ब्यान्डको प्रस्तुति समेत महोत्सवमा समावेश गरिएको अध्यक्ष पराजुलीले जनाउनु भयो । उक्त महोत्सवको पूर्व सन्ध्यामा पोखरामा प्रभाव फेरी आयोजना गरिने भएको छ । प्रभातफेरीलाई प्रभावकारी बनाउन उत्कृष्ट झाँकी सहितको र्याली प्रर्दशन गर्ने समुहलाई पुरस्कार वितरण गरिने भएको छ । विजेतालाई ७ हजार, उपबिजेतालाई ५ हजार र तेश्रो हुनेलाई ३ हजार प्रदान गरिने भएको छ ।

पछिल्लो पुस्तामा यःमरीको आकर्षण उल्लेख्य रूपमा बढेको नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनु भयो । दर्शकको मागका आधारमा यसपटक पर्याप्त मात्रामा यःमरी उत्पादन गरी व्यवसायिक रूपमा बिक्री वितरण गर्न उहाँले सुझाव दिनुभयो । साथै नालामुख क्षेत्रको पुरानो बस्ती तथा भवनहरूको संरचनात्मक संरक्षणमा महानगरपालिकाले थप ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले महोत्सवले नयाँ पुस्तालाई नेवारी कला–संस्कृतिसँग परिचित गराउने महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भयो । प्रतियोगितामा स्वाद मात्र होइन, यःमरी बनाउने तरिका, प्रयोग भएका सामग्री तथा परिकारसँग सम्बन्धित सांस्कृतिक ज्ञानलाई पनि मूल्यांकनको आधार विजेता घोषणा गरिने उहाँले जनाउनु भयो । जाडोयाममा शरीरलाई तातो राख्ने तत्वले भरिपूर्ण भएकाले यःमरीलाई स्वास्थ्यका लागि उपयोगी परिकारका रूपमा पनि लिन सकिने बज्राचार्यको भनाई छ । “चाकु, तिल र मरिचले शरीरलाई तातोपन दिन्छन्, त्यसैले यःमरी परिकार मात्र होइन, जाडोयामको पोषिलो भोजन पनि हो,” अध्यक्ष बज्राचार्यले भन्नुभयो । महोत्सव मार्फत परम्परागत परिकारलाई पर्यटनसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई पनि सुदृढ बनाउने लक्ष्य राखिएको आयोजकको भनाई छ । केही दिन अघि पोखराको पुरानो घरको संरक्षण नहुदा भत्केको पालिखेले पोखराक्लिकलाई बताउनु भयो । उक्त घर भत्केसंगै अब घर सोही ठाँउमा नवन्ने मापदण्ड लागु हुने ऐतिहासिक घर ध्वस्त हुनु राम्रो नभएको उहाँले भनाई थियो ।