
तनहुँको १५, बन्दीपुर,
याम्पाढाब निवासी भिमबहादुर क्षेत्री २९ वर्षको उमेरमा रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भए । धेरै अस्पताल धाए तर रोग पत्ता लागेन। अन्ततः भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको थाहा पाए।

अचानक थाहा पाएको यो रोगसँग लड्दै उनले १८ वर्ष बिताए। परिवारको पालनपोषण, ७ वर्ष र ३ वर्षकी दुई छोरीको भविष्य र औषधोपचारका खर्चबीच पनि उनले हिम्मत छाडेनन्। परिवार पृथ्वी राजमार्गको छेउमा सानो होटल चलाउँथ्यो। छोरीहरूको पढाइ र उपचारका लागि उनले होटलसँगै बाख्रापालन व्यवसाय सुरु गरे। श्रीमती ममताको साथ र समर्थनले उनलाई थप साहस दियो।
भिमबहादुरका छोरीहरू निशा र अनिशा पढाइमा असाधारण थिए। उनको संघर्ष र मेहनतकै फलस्वरूप आज दुवै छोरी उच्च शिक्षाका लागि अष्ट्रेलियामा छन्।
अन्तिम संघर्ष र बिदाइ
१८ वर्षसम्म रोगसँग लड्दै आएका भिमबहादुर ४७ वर्षको उमेरमा बुधबार राति सधैंका लागि अस्ताए। मृत्यु अघि अस्ट्रेलियाबाट आएका छोरीहरूले बाबुलाई अन्तिमपटक भेटे तर रोगको अवस्था यति नाजुक थियो कि उपचार सम्भव भएन।
स्थानीयहरूका अनुसार,“भिमबहादुरको जीवनले एउटा पाठ दिन्छ – जस्तोसुकै रोग भए पनि आत्मबलले लड्नुपर्छ, जुनसुकै परिस्थिति आए पनि धैर्यता, हिम्मत र परिश्रमले जीवन अघि बढाउन सकिन्छ।”
परम्परा तोड्दै छोरीहरूले गरे काजकिरिया
समाजमा प्रचलित “छोराले मात्र बुवाआमाको काजकिरिया गर्छ” भन्ने धारणा तोड्दै छोरीहरूले बुवालाई काँधमा बोकेर घरदेखि घाटसम्म पुर्याए। २५ वर्षकी निशा र २१ वर्षकी अनिशाले दागबत्ती दिएर बुवाको काजकिरिया सम्पन्न गरे र आमासँगै १३ दिनको बसाई बसिरहेका छन्। यो घटनाले समाजमा महिलाले पनि समान रूपमा कर्तव्य र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने सशक्त सन्देश दिएको स्थानीयहरूले बताएका छन्। तष्विर बन्दिपुर रेडियो (समाजिक संजाल)



