लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

-


     पोखरा क्लिक     
     असार १८ गते २०८३ मा प्रकाशित


पोखरा, १८ असार,

लायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसर पारेर लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य गरेको छ। क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो।

एक समारोहका बीच पूर्व बैंकर समेत रहनुभएका क्लबका अध्यक्ष गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष तथा गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। नयाँ लायन्स वर्षको पहिलो दिनलाई रचनात्मक र परोपकारी कार्यबाट सुरुवात गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो।

धाममा हाल २ सयभन्दा बढी गाईहरूको संरक्षण भइरहेको छ। विगतमा पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा अलपत्र र छाडा रूपमा छाडिएका गाईहरूलाई एकत्रित गरी आफ्नै पहलमा संरक्षण दिन थालिएको धामका अध्यक्ष पण्डित कमलनयन गौतमले बताउनुभयो।
कार्यक्रममा बोल्दै लायन्सका डिस्ट्रिक्ट ट्रेजरर पुरुषोत्तम पराजुलीले लायन्सले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्र नभई पशुचौपायाको कल्याण र संरक्षणमा पनि उत्तिकै चासो दिएर सहयोग पुर्‍याएको प्रस्ट पार्नुभयो। उक्त राहत तथा सहयोग कार्यक्रमको उद्देश्य र महत्त्वबारे कार्यक्रम संयोजक राजेन्द्रबहादुर कार्कीले प्रकाश पार्नुभएको थियो।



This will close in 20 seconds