
दीननाथ बराल,
पोखरा ३, कार्तिक,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रास्वपाले पोखराको चिप्लेढुंङगा र काठमाण्डौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको हो ।

पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिसोचका आधारमा रविलाई फसाउने सडेन्त्र गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले रविलाई पक्राउ गरेको आरोप लगाउनु भयो । रास्वपाका नेता तथा कार्यकर्ताहरुले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन खोजेकोे आरोप लगाउदै गुरुङ र पोखरेलको फोटोसहित प्रदर्शनमा उत्रिनु भएको थियो । सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको रास्वपाका नेताहरुको आरोप छ ।
जिल्ला अदालत कास्कीले रवी सहित १४ जनाविरुद्ध हिजो(विहिबार) पक्राउ पूर्जी जारी गरेको थियो। रवि विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने भएको छ । रास्वपाका नेता तथा कार्यकर्ताले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गर्नु भएको थियो । रवि लामिछानेलाई पोखरामा ल्याउने भए पछि विहिबार साँझ देखि पोखराका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छ, रवि दाई हाई हाई लगायतका नारा लगाएका थिए । उक्त कार्यक्रम हुदा सो क्षेत्रमा सडकमा सवारी साधन संचालनमा अबरोध गरिएको थियो ।
सहकारी पिडितहरुले आज आन्दोलन गर्ने तयारी गरे पनि कास्की प्रशासनले न्यायलयमा पुगेको बिषयमा अनावश्यक आन्दोलन नगर्न आग्रह गरेका कारण दुई दिनसम्म पर्ख र हेरको अबस्थामा रहने सहकारी पिडितहरुले बताउनु भएको छ ।

कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले कास्की प्रशासन सहित कास्कीका सुरक्षा निकायका प्रमुखहरुले रवि पक्राउ परेको बिषयमा मुद्धा प्रकृया अघि बढेकोले केही दिन आन्दोलन नगर्न आग्रह गरे अनुरुप दुई दिन पर्ख र हेरेको अबस्थामा रहने जनाउनु भयो । रविलाई पक्राउ पर्नुले आफुहरुलाई सहकारीको बचत रकम फिर्ता हुनेमा विश्वास लागेको पिडितहरुको भनाई छ । बचत फिर्ता हुनेमा सहकारी पिडितलाई झिनो आशा जागेको बताउनु भएको छ । सभापति लामिछानेले आफु गृहमन्त्री हुदा जसरी पनि जिबी राईलाई समेत नेपालमा ल्याई बचत कर्ताको रकम फिर्ता गराएरै छाड्नु भन्ने प्रतिकृया दिएकोले आज उहाँ नै पक्राउ परेकोले अब आफुहरुको बचत रकम फिर्ता हुने सम्भवना प्रवल रहेको संयोजक श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।
पक्राउ पर्नु भएको रविलाई अन्य थुनुवाहलाई राखे सरी राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । रवि आफैले आफ्नो कारणले प्रहरी प्रशासनलाई कुनै अप्ठेरो नपर्ने गरी सामान्य व्यवहार गर्न प्रहरी समक्ष आग्रह गरेको समेत शर्माले जनाउनु भयो । शनिबार सार्वजनिक बिदा भएकोले गर्दा आइतबार रविको बयान पछि अदालतमा लैजाने प्रहरीले जनाएको छ ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै शुक्रबार साँझ प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहनु भएको लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा नियन्त्रण लिई आज बिहान करिब २ः४५ बजे स्थल मार्ग हुदै पोखरा ल्याईएको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय जनाले बचत गर्न राखेको १ अर्ब ३५ करोड ५३ लाख रुपैया अपचलन गरेको मुद्धा अहिले अदालतमा विचाराधीन छ । उक्त अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई फरार हुनु भएको छ ।
लामिछाने सेयर सदस्य एवं प्रमुख कार्यकारी अधिकृत रहदा सुर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट करिब ६५ करोड रुपैया गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गरेको संसदीय छानविन समितिले निष्कर्ष निकालेको थियो। उक्त रकम टेलिभिजनका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लामिछाने मार्फत खर्च भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रविलाई स्थल मार्ग हुदै पोखरा ल्याउदा सडकका विभिन्न ठाँउमा रास्वपाका नेता तथा कार्यकर्ताले बिरोध प्रर्दशन गर्नु भएको थियो ।




