राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माण कार्यलाई प्रथामिकता दिने गण्डकी प्रदेश सरकारको प्रतिवद्धता

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १३, असोज,

गण्डकी प्रदेश सरकारले राइड शेयरीङ एपलाई कानूनबाट व्यबस्थित गर्ने देखि कोरोलादेखि त्रिवेणी सडक निर्माणको कामलाई उच्च प्रथामिकता दिने भएको छ । गण्डकी प्रदेशको संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्वता सार्वजनिक गर्न आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कुरा बताउनु भएको हो ।

उहाँले आगामी एक बर्षमा संयुक्त सरकारले आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासीको सोचलाई मुर्त रुप दिन ५९ बुंदे साझा संकल्प र नीतिगत प्रतिवद्धत्ता व्यक्त गर्नु भएको हो । कागेंस, एमाले सहितको संयुक्त सरकारले ल्याएको उक्त ५९ बुंदे साझा संकल्प प्रस्ताव आज बसेको क्याविनेट बैठकले कार्यान्वयन गने गरी पारित गरेको हो । कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइउदै व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सिमा नाका सुचारु गर्न विशेष पहल गरिने भएको उहाँले जनाउनु भयो ।

यातायात प्रणालीको अनलाईन सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण सफ्टवयेरको संचालन तथा व्यवस्थापन र सवारी चालक अनुमतिपत्र छपाई प्रदेशबाट नै गर्ने गरी व्यवस्था मिलाउन संघीय सरकारसँग सार्थक पहल गरिने भएको छ भने यतातायात र सडकलाई आर्थिक विकास तथा आपूर्ति व्यवस्थाको मेरुदण्ड, उत्पादन तथा वजार जोड्ने सेतु, पर्यटन केन्द्रको संजाल निर्माण, सर्वसुलभ सेवा प्राप्त गर्ने माध्यम तथा आर्थिक अन्तरआवद्धताको मुख्य संजालकोरुपमा विकास गरिने भएको छ ।

आधारभूत खानेपानीको पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रमर निर्माणाधिन अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ।संघ र सम्बन्धित स्थानीयतहसँगको सहकार्यमा सूचना प्रविधिमा आधारित राष्ट्रिय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन प्रणालीमा लगत राख्ने तथा अभिलेखीकरण गर्न गण्डकी प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता कार्ययोजना तर्जुमा कार्यक्रमलाई निरन्तरता दिईने भएको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गरी निरोगी प्रदेशको अवधारणालाई सार्थक तुल्याउन विशेष योगदान पु¥याइने भएको उहाँले जनाउनु भयो ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेशस् अनि परदेश कार्यक्रम सञ्चालन गरिने भएको छ भने नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटककको सेवा तथा तथा सुविधा विकास र विस्तार गरिने भएको सरकारका प्रवत्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताउनु भयो पर्यटनको समग्र विकासमार्फत आर्थिक विकास र रोजगारी वृद्धिमा टेवा प¥याउने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्यको खोजी, व्यवस्थापन एवम् प्रचार प्रसार गर्दैै प्रादेशिक पर्यटन गुरुयोजना तयार गरी क्रमशः कार्यन्वयनमा लगिने सरकारले प्रतिवद्धत्ता व्यक्त गरेको छ ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा पोखरा जाऔ प्रकृति र संस्कृतिसँग रमाऔ भन्ने मुल मर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइने छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई सुचारु गर्नुका साथै आन्तरिक उडानका सेवालाई सबै प्रदेशमा विस्तार गर्न आवश्यक पहल र समन्वय गरिने भएको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो ।

औषधी जन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन गर्ने प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यन्वयन गरिने भएको छ भने साथै स्थानीय मदिराको ब्राण्डिङलाई कानूनत व्यवस्थित गरिने भएको उहाँले जनाउनु भयो ।

रोजगारी र उद्यमशिलता उन्मूख स्वरोजगारीका लागि व्यवसायिक सिप तथा तालिमको व्यवस्था गरिने भएको छ भने उत्पादनसँग युवा अभियान संचालन गरी युवालाई उद्यमशिलता तर्फ प्रोत्साहन गरिने संयुक्त सरकारले जनाएको छ । सुरुवाती व्यवसाय गर्न चाहनेका लागि वीउ पुँजी (सीड मनी) सहुलियतपूर्ण व्याजदरमा सहजरुपमा उपलव्ध गराइनेछ सरकारले जनाएको छ ।

खेल क्षेत्रलाई राष्ट्रको छवि निर्माणको माध्यम बनाउदै खेलाडी र खेल पूर्वाधारमा लगानी वृद्धि गरिने भएको छ ।

प्रदेशको मुख्य आय स्रोतको रुपमा रहेको वनको व्यवस्थापन तथा यसको उपयोगसंग जोडिएका समस्याको समाधान गर्दै प्रदेश वन ऐनको प्रभावकारी कार्यान्वयन गरिने संयुक्त सरकारले जनाएको छ ।

राजनीतिक अस्थिरताका कारण नागरिकमा बढ्दो निराशालाई भरोसामा परिणत गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न, प्रदेशका जनताको हितको रक्षा गर्न, प्रदेश संरचनाप्रति उठेका प्रश्नको व्यवहारवाटै सकारात्मक जवाफ दिन, प्रदेशको आन्तरिक आय वृद्धि गर्न, सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्दै पुँजीगत खर्चमा वृद्धि गर्न आफुहरु लाग्ने मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । साथै उहाँले विश्वासनीय व्यवसायिक वातावरण सिर्जना गरी उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न, नागरिकलाई छिटो, छरितो, चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न, भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न एवं प्रदेश र स्थानीय तहमा हुने विकास निर्माणको अभियानलाई तीव्रता दिन विशेष ध्यान दिइने जनाउनु भयो ।

प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जनतालाई करको भार होइन करको दायरा विस्तार गरी जनताको सुविधा दिन सरकार लाग्ने बताउनु भयो । जनतामा छाएको निरासालाई आशामा बदल्ने अन्तिम मौका समेत भएको उहाँको भनाई थियो ।