दीननाथ बराल,
पोखरा, १७ भदौ,
गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । संघीय सरकारमा एमाले–कांग्रेसबीच सत्तागठबन्धनमा सहमति भएको महिनापछि गण्डकीमा सरकारको पुनर्गठन भएको हो । साविक ७ मन्त्रालय रहेकोमा आइतबार मन्त्रिपरिषद्को बैठकले मन्त्रालय फुटाएर ९ बनाउने निर्णय गरेको थियो । यसअघिको एमाले कांग्रेस सहमतिबमोजिम एमालेले ४ मन्त्रालय र कांग्रेसले ५ मन्त्रालय लिने भागबण्डा गरेका हुन् ।
नवलपरासीकी पद्मा जिसी नेतृत्वमा सरकारमा गएको हो । निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी निकटबाट ३ र एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ निकटबाट १ जना मन्त्री बनेको श्रोतले पोखराक्लिकलाई जनाएको छ । यस विषयमा पृथ्वीसुव्वा पंक्ति असन्तुष्ट छ । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पोखराका प्रकाशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, बागलुङ कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय र पर्वतका मित्रलाल बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि, भौतिक पूर्वाधारमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
मन्त्रीहरुलाई आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले संसदीय दलका नेता एवं पुर्व मुख्यमन्त्री खगराज अधिकारी, सभामुख कृष्ण धिताल, पार्टीका नेता तथा कार्यकर्ता देखि कर्मचारी हुदै शुभेच्छुकहरुले फुल माला तथा खादा लगायर बधाई ज्ञापन गर्नु भएको छ ।