२३ औं आहा रारा पोखरा गोल्डकपलाई ग्लेज स्प्रिङ वाटरको साथ

-


     पोखरा क्लिक     
     पौष २४ गते २०८० मा प्रकाशित



पोखरा, २४ पुस

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रालिले साथ दिएको छ । अफिसियल ड्रिङ्किङ वाटरको रुपमा कम्पनीका तर्फबाट अध्यक्ष रविमोहन बराल र आयोजक सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा क्लब र कम्पनीतर्फबाट प्रतिनिधिको पनि उपस्थिति थियो । पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने सो प्रतियोगितामा कम्पनीले प्रतियोगितास्थल, कार्यालय एवं पत्रकार सम्मेलन लगायतमा आवश्यकता अनुसार कम्पनीको उत्पादन ग्लेज स्प्रिङ वाटर उपलब्ध गराउनेछ । उक्त पानी पोखरा १३ को मुलको पानीबाट प्रशोधन गरिएकोले प्राकृतिक शुद्धत्ता रहेको हुँदा सो पानीको बजारमा अत्याधिक माग भएको कम्पनीका प्रबन्ध निर्देशक शरदचन्द्र बरालले बताउनु भयो ।।

आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता पोखराकै एक ब्रान्ड बनिसकेको छ । प्रतियोगिता सफल पार्न देशविदेशबाट सहयोग आउनेक्रम जारी रहेको महासचिव रामजीप्रसाद अधिकारीले बताए । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जनाए ।

कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोबिल्लामा प्रदान गर्दै आएको छ । हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् । प्रतियोगितामा यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकले भाग लिने छन् । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।