राखेप अन्र्तगत भौतिक पूर्वाधार अध्ययन तथा वर्गीकरण समितिको टोली तनहुँमा

-


     पोखरा क्लिक     
     पौष १८ गते २०८० मा प्रकाशित


पोखरा १८, पुष

राष्ट्रिय खेलकुद परिषद(राखेप) अन्र्तगत हालै गठन भएको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समितिको उक्त टोली गण्डकी प्रदेशको नवलपुर हुदै बुधबार तनहुँमा आइपुगेको छ । टोलीले बुधबार तनहुँका विभिन्न खेल मैदान तथा त्यहाँका भौतिक संरचनको बारेमा अध्ययन अवलोकन गरेको छ ।

टोलीसंग व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, कार्यालय प्रमुख शिवहरी पण्डित, व्यस नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ लगायतको सहभागितामा छलफल समेत भएको समितिका सदस्य डिबी नेपालीले बताउनु भयो ।

उक्त समितिका संयोजक राखेप सदस्य राजेश गुरुङ, समितिका सदस्य एवं साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका (नासु) डम्बर बहादुर (डिबी) नेपाली अर्को सदस्य एवं जिल्ला खेलकुद विकास समिति कास्कीका इन्जिनियर अनिल अधिकारी लगायतको सहभागिता रहेको छ । टोलीले मंगलबार गैडाकोटमा रहेको खेल मैदान तथा कभर्ड हलको अध्ययन अवलोकन गरेको थियो ।

राखेपले साविका क्षेत्रीय तथा प्रदेश सरकारसंग समन्वय गरी छलफल गर्ने, स्थानीय सरकारसंग समन्वय गरी छलफल गर्ने,खेलकुदका सरोकारवालाहरुसंग समन्वय, छलफल गर्ने, अन्तर्राष्ट्रिय, राष्ट्रिय स्तरका संरचनाहरुको पहिचान गर्ने, प्रदेश स्तरीय र स्थानीय स्तरका संरचनाहरुको पहिचान गर्ने, खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ मा भएका निष्कर्षका आधारमा छलफल गर्ने अधिकार दिएको छ । त्यसै गरी पूर्वाधार निर्माणका लागि प्रस्तुत भए बमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका तालिम केन्द्र र प्रतिष्ठान स्थापना गर्ने संरचनाहरुको बर्गिकरण गर्ने, राष्ट्रिय खेलकुद नियमावली २०७९ को परिच्छेद ६ को ४ बमोजिम भौतिक पूर्वाधार हस्तान्तरण गर्ने मापदण्ड बमोजिम प्रतिवेदन तयार गर्ने, जिल्ला खेलकुद तथा क्षेत्रीय खेलकुद विकास समिति मातहत रहेका पूर्वाधारको अवस्था र त्यहाँको आम्दानीको विवरण, प्रकृयाको अवस्था अध्ययन गर्ने लगायका अधिकार दिएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आफुहरुले यस क्षेत्रमा खेलकुदको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण गरी त्यसको छ्ट्टिै नै परिणाममुखी प्रतिवेदन पेश गर्ने संयोजक गुरुङले पोखराक्लिकलाई जनाउनु भयो ।