फुर्ती बेच्ने ‘महानायक’ ताराबहादुर गुरुङ

-


     पोखरा क्लिक     
     पौष १ गते २०८० मा प्रकाशित


असफल गौतम

हे दरौ सिरुबारी माझकटेरी
माया पनि लाकै हो कसम पनि खाकै हो
हे पापी मायाले गरेऊ अटेरी ।

जुन गीतले स्याङ्जाको दर्रौं सिरुवारी मात्र चिनाएको छैन । ताराबहादुर गुरुङ, मोनिका दाहाल र तेज गिरिको अभियन रहेको गीत, जसले सर्वोत्कृष्ट लोकगीत म्यूजिक खबर अवार्ड २०७२, सर्वोत्कृष्ट लोकगीत २०७३, चौथो वायो लोकगीत अवार्ड प्राप्त गर्न सफल भयो । समय सन्दर्भले सिर्जनाको सफलता–असफलतामा ठूलो भूमिका निर्वाह गर्छ भन्ने आँकलन सहजै गर्न सकिन्छ । ताराबहादुर गुरुङले अभियन गरेका दर्जनौं गीतमध्ये यो सर्वाधिक लोकप्रिय हुनुका पछाडि केही कारण अवश्य छन् ।

वरिष्ठ लोकदोहोरी गायक राजु परियारको शब्द र स्वर, जयकुमार परियारको संगीत रहेको यस गीतका आफ्नै मौलिकता पनि छन् । गीत राजु परियारले गाए, उनको जीवनमा मेल खायो या पारिवारिक जीवनमा आइलागेको बिग्रहलाई केन्द्र बनाएर गीत तयार गरियो । त्यो कलाकारले जान्ने कुरा हो । ताराबहादुरले अभिनय गरे । आफ्नो जन्मभूमिलाई लिएर तयार गरिएको गीत त्यही माटोमा जन्मेका कलाप्रेमीको अभिनयले जति न्याय गर्छ भाडाको सिपाहीले गर्न सक्दैन । घनश्याम लामिछानेको निर्देशन र श्यामशुक्ला फिल्म प्रोडक्सनको व्यवस्थापन यी सबै सन्दर्भले गीत सर्वोत्कृष्ट भयो । जसलाई पछिल्लो लोकप्रिय प्लेटफर्म युट्युबमा झण्डै १४ लाख पटक हेरिएको छ । यसरी सर्वाधिक हेरिनुका पछाडि ताराबहादुर गुरुङको अभिनय मात्र नभएर जननी र जन्मभूमिका कारणले पनि गीत, गायक र कलाकारको उचाइ चुलिदै गएको हो ।

ताराबहादुर गुरुङ, जो आज गुरुङ चलचित्रको महानायकका रूपमा सुपरिचित छन् । पिता क्या. नारायणसिंह गुरुङ र माता नन्दकुमारी गुरुङको कोखबाट अर्जुनचौपारी–६, दरौं, स्याङ्जामा २०२२ ज्येष्ठ २९ गते शुक्रबारका दिन ताराबहादुरको जन्म भयो । पिताको बन्दुक मोहले तानेको भए आज उनी महानायक हुने थिएनन् । गीतको यो किस्सा पनि जोडिने थिएन । हाल पोखरा–१२, शितलादेवीमा श्रीमती लक्ष्मी गुरुङ, छोरा आशीष र छोरी अमिशासहितको परिवारमा बस्दै आएका उनी हकी र निडर स्वभावका छन् । गुरुङलाई त्यही स्वभावले महानायक बनाएको हो भन्नेमा दुई मत राख्नै पर्दैन ।

महानायक गुरुङले फिल्मका साथसाथै विभिन्न म्यूजिक भिडियोमा अभियन गरेका छन् । उनका दरौंसिरुबारी, कौरा, आजै र राति के देखेँ सपनी, चरीले बिउ खायो, कति सुन्दर मेरो गाउँ, मेरो देश मेरो नेपाल, विश्वको शिर सगरमाथा, जय दुर्गे माता, देउसीभैँलो, धरतीमुनि, सुनको थैलीलगायतका गीत हिट र सुपरहिट हुनुमा महानायकको योगदान अवश्य छ । २०४८ सालदेखि २०६५ सालसम्म लालीगुराँस कल्चरल ग्रुप सञ्चालन गरेर आफूलाई व्यवसायीकारूपमा परिचित गुरुङको योगदानको कदर स्वरूप हालसम्म झण्डै पाँच दर्जन सम्मान पुरस्कारबाट विभूषित भएका छन् । जनस्तरबाट उल्लेख्य भए तपानि राज्य बेखबर हुनु दुर्भाग्यको कुरा हो ।

देशमा संघीय व्यवस्था आएपछि नेपाली वाङ्मयको श्रीवृद्धि गर्न विभिन्न प्रज्ञा–प्रतिष्ठान गठन भएका छन् । साच्चै भन्ने र हेर्ने हो भने नेपाली बृहत् शब्दकोशले परिभाषित गरेको ‘प्रज्ञा’ शब्दको अर्थ र हालका प्रज्ञा–प्रतिष्ठान साच्चै प्राज्ञिक छन् कि पार्टीका भातृसंगठनका सम्पर्क कार्यालय जस्ता ? सचेत वर्गले प्रश्न गर्नुपर्ने अवस्था हुनु वाङ्मयसेवीका लागि दुःखको कुरा हो । राज्यमा हिजो सती प्रथा थियो समयको कालक्रममा त्यो प्रथा हट्यो भनेर गर्व गरिरहेका हामीलाई आज शरणार्थी प्रथाले आक्रान्त बनाइरहेको छ । साच्चै राष्ट्र र राष्ट्रियताका सबालमा प्रश्न उठाउने हो भने हिजोको सती भन्दा आजको शरणार्थी प्रथा हजारौं गुणा राष्ट्रघाती छ । किनकि सती प्रथाले एउटा पारिवारिक जीवनलाई तहसनहस तुल्याएको थियो, त्यो पीडा आफ्नो ठाउँमा छ । तर शरणार्थी प्रथाले आज राष्ट्रियतालाई नै लिलाम गरिरहेको छ । यसैले हाम्रो राष्ट्र, राष्ट्रियता र नेपाली वाङ्मयको सेवामा लाग्नेहरूका लागि यो भन्दा ठूलो दुर्भाग्य केही हुनै सक्दैन । यस्तो दर्दनाक अवस्थामा पनि कलाकार ताराबहादुर गुरुङ फुर्ती बेचेर बाँचिरहेका छन् । यो गर्वको कुरा हो ।

आफ्नो कला प्रदर्शनी पछि उनी भन्छन्– ‘मैले मेरो कला देखाउँदा इन्धन सकिने र इन्जिन खिइने पनि होइन । राष्ट्र र राष्ट्रियताको भाव मेरो प्रस्तुतीले बोल्छ भने म राष्ट्रप्रति किन समर्पित नहुने ?’ उनका कुरा सुन्दा लाग्छ यो देशको माउ नीति राजनीतिलाई डोर्याउनेमा यो चेतना कहिले जाग्ने होला ? हामीले मानेका हाम्रा नेता विदेशमा मूर्ति बेच्न पुग्छन् तर ताराबहादुर जस्ता राष्ट्रप्रेमी फुर्ती बेचेर देशको स्वाधिनताको गीत गाउँछन् । यसले स्वाभिमानी नेपालीलाई अँध्यारोमा जूनकीरीले छरेको उज्यालो जस्तो आनन्दित तुल्याउँछ । उनले आजसम्म सिंगापुर, भारत, हङकङ, बेलायत, डेनमार्क, स्वीजरल्याण्ड लगायतका देशमा आफ्नो विधागत योगदानका साथै कला प्रदर्शन गरिसकेका छन् । स्वदेशी र विदेशीको मन जित्न सफल गुरुङले अभिनय, गीत, संगीतकै माध्यमबाट आफूलाई राष्ट्रप्रेमी सर्जकका रूपमा सुपरिचित गराएका छन् ।

कलाकारिता पेशामै आफ्नो जीवन समर्पण गरेका ताराबहादुर गुरुङले अभिनय गरेका फिल्म धोका, अस्मिता, मेरो जिन्दगी, अग्निदहन, किड्न्याप, तिम्रो कसम, एउटा घरको व्यथा हैन, बादलपारिको त्यो देशमा, सोया, कान्छा, पाते, मेरो माया तिमीलाई, पेवा, टाढाटाढा, सीपको आर्जनलगायतले उनी आज यो स्थानमा छन् । धन भएर मात्र हुँदैन मन पनि चाहिन्छ । लोकसंस्कृतिको संरक्षणमा निरन्तर क्रियाशील उनी लोकनृत्य कलाकार संघको संस्थागत विकासलाई आफ्नै घरमा कार्यालय स्थापनाका लागि कोठा सौजन्य गरिरहेका छन् । घरलाई कला, संस्कृतिको सङ्ग्रहालयका रूपमा स्थापित गरेर प्रज्ञा–प्रतिष्ठान भन्दा माथिल्लो दर्जामा तुल्याएका छन् । साच्चै भन्ने हो भने, पोखराका निजी विद्यालयले सञ्चालन गर्ने अधिकांश सांस्कृतिक कार्यक्रममा ताराबहादुरको सङ्ग्रहालयको प्रयोग भएन भने ती विद्यालयका सांस्कृतिक कार्यक्रममा संस्कृति झल्कदैन यो सत्य र तथ्य कुरा हो । हामी काँग्रेसको भात भान्सा, कम्युनिस्टको ओत ओछ्यान गरेर हुर्किरहेका छौं त्यसैले हामीमा त्यो सत्य र तथ्य बोल्न सक्ने हिम्मतै छैन । यसैले गण्डकी प्रदेशको लोकसंस्कृति र सिङ्गो वाङ्मयको कुरा गर्दा अली मियाँ, धर्मराज थापा, झलकमान गन्धर्व सँगसँगै अग्रपंक्तिमा आउने नाम चेतन कार्की, हिमाली सांस्कृतिक परिवारलाई बिर्से जसरी ताराबहादुर गुरुङले पुर्याएको थोरबहुत योगदान भुलियो भने अन्यथा र आश्चर्य नमाने हुन्छ ।

गुरुङ नायक मात्र हैनन् उनी निर्माता पनि हुन् । उनले ङैं जिन्दगी (मेरो जिन्दगी) को निर्माण पनि गरेका छन् । लालीगुराँस कल्चर ड्रेस गहना तथा साउण्ड सर्भिसका संस्थापक गुरुङ लोकनृत्य कलाकार संघ, हिमाली सांस्कृतिक परिवार, जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल, राष्ट्रिय धर्म सभा नेपाल कास्कीलगायतका संघसंस्थामा रहेर आफूलाई साहित्यिक सांस्कृतिक अभियान्ताकारूपमा परिचित गराइरहेका छन् । उनको कला साधनाले शिखर चुम्दै जाओस् । अन्त्यमा, गीतमा भनिए झैँ ‘राम्रो होस् सुखीलाई, लाहुरे पायौं के हेर्थेऊ दुखीलाई’ समय जे जसरी बिते पनि सबैको राम्रो होस् । सुखी पाएर दुखीलाई हेर्न नछोडियोस् । कला, संस्कार र संस्कृतिको संरक्षण गर्न सकियो भने यसैका माध्यमबाट विश्वमा हाम्रो राष्ट्र र राष्ट्रियताको पृथक पहिचान स्थापित गर्न सकिनेमा सरोकारवाला सम्बद्धको समयमै ध्यान जाओस् ।

आज विवाह पञ्चमीको पावन सन्दर्भमा सबैलाई हाम्रा संस्कार, संस्कृति संरक्षणमा लाग्ने सत्बुद्धि मिलोस् हार्दिक शुभकामना !



This will close in 20 seconds