पोखरा इलेक्ट्रिक क्लवको अध्यक्षमा पोखरेल

-


     पोखरा क्लिक     
     कार्तिक २३ गते २०८० मा प्रकाशित


पोखरा २३, कार्तिक

पोखरा इलेक्ट्रिक क्लवको अध्यक्षमा अमृत पोखरेल निर्वाचित भएका छन् । कात्तिक २२ गते सम्पन्न २५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अघि उनी कृष्ण प्रसाद सापकोटा नेतृत्वको कार्यसमितिमा सचिव थिए । दक्ष जनशक्ति आजको आवश्यकता गुणस्तरिय सेवा हाम्रो प्रतिबद्धता भन्ने उदघोषका साथ २०५६ सालमा स्थापना भएको पोखरा इलेक्ट्रिक क्लव अहिले तन्नेरी बनेको छ ।

२५ औं रजतजयन्ती मनाइरहँदा र क्लवको नेतृत्व पाइरहँदा खुशी लागेको पोखरेल बताउँछन् । इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफु नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिबद्धता उनको छ ।

एकतामा नै शक्ति हुने भएकाले पोखराका सम्पूर्ण इलेक्ट्रिक व्यवसायीमा संयुक्तपनको भावना जाग्नुपर्ने उनले उल्लेख गरे । काममा इमानदारी र व्यवसायिक दक्षतालाई बढ्वा दिन आफ्नो प्रयास रहने उनले बताए ।