एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा १ सय ६६ मतान्तरले विजयी

-


     पोखरा क्लिक     
     असाेज १९ गते २०८० मा प्रकाशित


पोखरा १९, असोज

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी हुनुभएको छ । विहिबार बेलुका सार्वजनिक भएको मत परिणाम अनुसार शर्माले आफ्ना प्रतिद्धन्दी लमजुङका मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।

शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ प्राप्त गर्नु भएको निर्वाचन कमिटिले जनाएको छ । त्यसै गरी उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो । उहाँले ५ सय ३४ मत प्राप्त गर्नु भयो । उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गर्नु भयो । सचिवमा धनञ्जय दवाडीले ५ सय २० ल्याएर विजयी हुँदा उहाँका प्रतीद्धन्दी रश्मी आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।

उपसचिवमा ४ सय ९९ मतसहित दामबहादुर विक विजयी हुनु भयो । उहाँका प्रतिस्पर्धी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गर्नुभयो । उपसचिव महिलातर्फ ५ सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गर्नुभयो ।
बिहीबार भएको मतदानमा ९ सय ७ प्रतिनिधिमध्ये ८ सय ९६ जनाले मतदानमा सहभागि भएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले एटुजेडलाई बताउनु भयो । अधिवेशनबाट ५ पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट १ सय ६५ उम्मेदवार निर्वाचित हुनु भएको हो । उक्त अधिवेशन पोखरा सभागृहमा भएको थियो ।