तेस्रो प्रयासमा सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीमाथि १० विकेटको सानदार जित

-


     पोखरा क्लिक     
     मंसिर ५ गते २०८३ मा प्रकाशित


काठमाडौं,

लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न असफल सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि चुमेको छ । शनिबार सम्पन्न तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो । टोलीको जितमा जर्ज मन्से नायक बने । उनले ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए । विनोद भण्डारीले पनि ३० रनको योगदान दिँदै उनलाई साथ दिए । यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन जोडे । सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक उपाधिसँगै इतिहास पनि रचेको छ । च्याम्पियन बनेको सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ र उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रधानमन्त्री वालेन्द्र शाहले पनि सुदूरपश्चिमको ऐतिहासिक सफलतामा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बधाई दिएका छन् । तष्विर शुर्दशन रन्जित