
पोखरा २२, कार्तिक,
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी को लिला आधारभूत बिद्यालय परिसरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स्थानीय दहराका ३० वर्षीय सुरेश लामिछानेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हुन सक्ने कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।
लामिछाने सवार ग ९ प ६६४७ नम्बरको पल्सर मोटरसाइकल सडकबाट करिब ५ मिटर तल खसेको थियो भने उनको शव करिब ३० मिटर तल निर्माणाधीन रिटेनिङ वालमा बजारिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले बताउनु भयो । घुमाउरो तथा उकालो सडक भएकाले रातिको समयमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक रुपमा आशंका गरेको छ । लिला आधारभूत विद्यालयको खेलमैदान निर्माण भइरहेको क्षेत्रनजिकै उक्त दुर्घटना भएको स्थानिय दिनेश बरालले बताउनु भयो । मोटरसाइकल पल्टिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको उहाँले जनाउनु भयो । त्यसपछि खोजी तथा अनुसन्धानका क्रममा लामिछाने सडकबाट थप तल निर्माणाधीन पर्खालमा ठोक्किएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति थप शंकास्पद हुन सक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय कास्कीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान अघि बढाएको छ । प्रहरी निरीक्षक रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । स्थानीयका अनुसार दुर्घटनापछि तत्काल उद्धार हुन नसक्दा लामिछानेको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा बिहान ठुलो सङख्यामा स्थानियको भिड लागेको थियो ।





