
पोखरा,
युवालाई खेलकुद र संस्कृतिसँग जोड्दै गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको अन्नपूर्ण गाउँपालिका–७, तोल्कामा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
‘जब युवा अघि बढ्छ, तब देशको विकास हुन्छ’ नारा सहित क्रियाशिल श्री देउराली युवा क्लबको आयोजनामा क्लबको १६ औँ वार्षिकोत्सव तथा नेपालीहरूको महान् चाड शुभ दीपावली एवं तिहारको अवसर पारेर आगामी कात्तिक २५ देखि २९ गतेसम्म हिमालय माध्यमिक विद्यालयको खेलमैदानमा कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा १८ देखि २० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए। उनका अनुसार खेलकुदमार्फत युवाहरूबीच आपसी भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै खेलाडी उत्पादन, गाउँको पर्यटन प्रवद्र्धन, स्थानीय संस्कृति र मौलिकताको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमले गाउँका युवाहरूलाई एउटै सूत्रमा बाँध्दै सामूहिक एकता र सहकार्यको भावना विकास गर्ने प्रयास गरेको क्लबका कार्यवाहक अध्यक्ष चेतबहादुर विकले बताए। प्रतियोगितामा प्रथम हुनेले ६१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी द्वितीय हुने टोलीले ४१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेले २१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टोलीले ११ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रविन्द्र थापामगरले जानकारी दिए। भलिबल प्रतियोगितासँगै प्रौढ भलिबल, एकल नृत्य, ठेला हान्ने, रस्साकस्सी, घैँटो फुटाउने र भाले छोप्ने लगायतका मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रतियोगितासमेत आयोजना गरिनेछ।
कार्यक्रमको उद्घाटन कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गर्ने आयोजकले जनाएको छ। खेलकुद, संस्कृति र मनोरञ्जनलाई एउटै उत्सवमा जोड्ने यस कार्यक्रमले गाउँमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





