पाल्पाको मौलिक देउसी भैलो पोखरामा प्रदर्शन

-


     पोखरा क्लिक     
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


पोखरा, २२ कात्तिक,

पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार मौलिक देउसी भैलो कार्यक्रम–२०८३ गरेको छ । समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो समाजले पोखरामा प्रस्तुत गरेको हो ।

सिटिजन फर्निचरको मुख्य प्रायोजनमा भएको उक्त कार्यक्रम हेर्न दर्शकको ठूलो भीड लागेको थियो । पाल्पा हाउसमा कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि न्यूरोडस्थित सिटिजन फर्निचरमा शनिबार साँझदेखि राति साढे ९ बजेसम्म प्रस्तुति दिइएको हो । सो अवसरमा गायकगायिका करण तामाङ, रामजी पौडेल, बसन्ती थापामगर, सीमा सारु, प्रकाश क्षेत्रीलगायतले पाल्पामा खेलिने देउसी भैलोलाई ठ्याक्कै उतारेका थिए । उनीहरुले सोरठी, कौरा, सालैजो र झ्याउरे गीत समेत गाउनुका साथै नृत्य देखाएका थिए । कलाकारको टिमलाई सिटिजन फर्निचरका संचालक दीपक कार्कीले स्वागत गरेका थिए । कार्यक्रम संचालन समाजका पूर्व अध्यक्ष रेशम रचक थापाले गरे ।

पाल्पा हाउसको उद्घाटन समारोहमा प्रमुख अतिथि समाजका सल्लाहकार एवं अग्रज पत्रकार श्यामनाथ कुँवरले पाल्पाको कला संस्कृतिबारे प्रस्ट पारे । राजा मुकुन्द सेनले लगातार नाचिने मारुनी नाच द्वादशीको दिन रिडी लगेर बिसर्जन गर्ने गरेको किंबदन्ती कुँवरले सुनाए । पूर्वी पाल्पामा बालन नाच एवं पश्चिम पाल्पा भजन, सोरठी प्रख्यात छ ।

समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत कार्यक्रम संयोजक केशव नेपाल र संचालन सचिव पदमप्रसाद पोखरेलले गरे । पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पा कोलोनीसमेतले कार्यक्रम सफल पार्न सहयोग गरेका थिए । कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।