पोखरामा सातौँ स्वन्ती नखः महोत्सव हुँदै, सयपत्री माला बुन्नेदेखि परम्परागत भाइटीकासम्मका गतिविधि

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८३ मा प्रकाशित


पोखरा,

नेवारी कला, संस्कृति, मौलिक परम्परा र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा सातौँ स्वन्ती नखः महोत्सव आयोजना हुने भएको छ। नेवा मिसा पुचः कास्की र पोखरा महानगरपालिका–९ को विशेष सहयोगमा चिप्लेढुंगास्थित नेवास् मिसा पुचःको आयोजनामा कात्तिक २१ गते शनिबार पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा महोत्सव हुन लागेको हो।

नेवारी समुदायको मौलिक पर्व, संस्कार र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष पनि विभिन्न सांस्कृतिक, धार्मिक तथा परम्परागत गतिविधि समेटिएका छन्। महोत्सवको मुख्य आकर्षणका रूपमा सयपत्री फूलको माला बुन्ने प्रतियोगिता रहनेछ। पछिल्लो समय चाडपर्वमा प्लास्टिक तथा आयातित मालाको प्रयोग बढ्दै गएको सन्दर्भमा स्थानीय फूलको उपयोगलाई प्रोत्साहन गर्दै परम्परागत सीप र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने पहिलो, दोस्रो र तेस्रो स्थानका सहभागीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, महोत्सवमा नेवारी समुदायको मौलिक भाइटीका विधिसमेत प्रदर्शन गरिनेछ। नयाँ पुस्तालाई भाइटीकाको सांस्कृतिक तथा धार्मिक महत्त्व, दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध र परम्परागत पूजाविधिबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम राखिएको नेवा मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले जानकारी दिइन्।

महोत्सवमा नेवारी समुदायका परम्परागत खानाका परिकारले पनि विशेष आकर्षण थप्नेछन्। नेवारी परिवारले आफ्नै घरमा तयार पारेका योमरी, समयबजी, चटामरी, बारा र सेलरोटीलगायत मौलिक परिकारका स्टल रहनेछन्। भाइटीकाका लागि आवश्यक सामग्रीका स्टलसमेत राखिने आयोजकले जनाएको छ। यसका अतिरिक्त विभिन्न कलाकारले नेवारी कला, संस्कृति र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। महोत्सवमार्फत नेवारी समुदायको मौलिक पहिचान, भाषा, संस्कार, संस्कृति र परम्परागत सीपको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने आयोजकको विश्वास छ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले महोत्सवले नेवारी समुदायको संस्कार र संस्कृतिको संरक्षणसँगै समुदायलाई आर्थिक रूपमा समेत सबल बनाउन सहयोग पुग्ने बताए। पछिल्लो समय नेवारी संस्कृतिसँग जोडिएका विभिन्न जात्रा, परम्परा र मौलिक गतिविधि लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनले नयाँ पुस्तामा सांस्कृतिक जागरण ल्याउन यस्ता महोत्सव आवश्यक रहेको बताए।



This will close in 20 seconds