
पोखरा,
पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयको ४०औँ वार्षिक खेलकुद प्रतियोगिता विहिबार पजि जारी रहेको छ । बुधबारदेखि सुरु भएको उत्तः कार्यक्रम विशेष समारोहबीच विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बेलुन उडाएर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा विद्यार्थीहरूले अनुशासित र आकर्षक मार्चपास प्रस्तुत गरेका थिए। मार्चपासको संस्थापक अध्यक्ष पालिखेले सलामी ग्रहण गर्नुभएको थियो। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले विद्यालय परिसर खेलकुदमय बनेको थियो। विद्यालयको शैक्षिक गतिविधिसँगै विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई समेत प्राथमिकता दिँदै वार्षिक रूपमा आयोजना हुँदै आएको खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र सामूहिक कार्यकुशलताको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शुभारम्भ समारोहमा विद्यालयका सहायक प्राचार्य मुकेशकुमार अधिकारी, गणित शिक्षक मनबहादुर भुजेल, निर्देशक कुशल पालिखेलगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन शिक्षक सुरेन्द्र सदिच्छाले गर्नुभएको थियो। विद्यालयले आयोजना गरेको ४०औँ वार्षिक खेलकुद प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित खेल प्रतिभा प्रस्फुटन गर्ने, आपसी सद्भाव अभिवृद्धि गर्ने तथा अध्ययनसँगै खेलकुदको महत्त्व स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।





