
दीननाथ बराल,
पोखरा १५, असोज,
तिहार पर्वको अवसरमा पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आगामी कार्तिक दोश्रो साता छैटौँ बेगनास माछा महोत्सव (फिस फेस्टिबल)–२०८३ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा कार्तिक १३ देखि २३ गतेसम्म उक्त महोत्सव हुने भएको एसोसियसनका अध्यक्ष सुरेश लामिछानेले पोखराक्लिकलाई बताउनु भयो ।
“बेगनासताल र आसपासका पर्यटकीय गन्तव्यलाई चिनाउँदै यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने हाम्रो मुख्य उद्देश्य हो । पर्यटन व्यवसायलाई यस क्षेत्रको प्रमुख आर्थिक स्रोतका रूपमा विकास गर्दै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,” अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँका अनुसार होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथले विगतदेखि नै यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै फिस फेस्टिबल, ड्रागन बोट रेस, हाइकिङ, मौलिक ढुंगा दौड लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले बेगनास र लेखनाथ क्षेत्रको पर्यटनमा थप आकर्षण बढाउँदै आएको उहाँको भनाइ छ ।
बेगनास ताल सहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नु रहेको उहाँले जनाउनु भयो । बेगनास क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, तालतलैया तथा धार्मिक एवं सांस्कृतिक सम्पदाले सम्पन्न भएकाले पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र रहेको अध्यक्ष लामिछानेले जनाउनु भयो । महोत्सवमा बेगनासतालको माछा तथा स्थानीय उत्पादनको प्रवद्र्धनसँगै पर्यटनसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसाय, मत्स्य व्यवसाय, कृषि, हस्तकला तथा स्थानीय उत्पादनलाई समेत महोत्सवसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार बेगनासताल धार्मिक पर्यटन व्यवस्थापन समिति, बेगनासताल बराह महाआरति व्यवस्थापन समिति, जलेश्वर शिव मन्दिर व्यवस्थापन समिति, बेगनासताल मत्स्य व्यवसाय समिति, विभिन्न आमा समूह, टोल विकास संस्था, सहकारी तथा स्थानीय संघसंस्थाको सहकार्यमा महोत्सव आयोजना गरिनेछ । महोत्सवका माध्यमबाट बेगनासतालसँगै रुपाताल, दिपाङ्गताल, मैदीताल, विभिन्न धार्मिकस्थल तथा आसपासका पर्यटकीय क्षेत्रलाई समेत पर्यटनको एउटै गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने आयोजकको तयारी छ । अध्यक्ष लामिछानेले महोत्सवलाई केवल मनोरञ्जनात्मक कार्यक्रमका रूपमा नभई स्थानीय पर्यटन, व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढाउन खोजिएको बताउनुभयो । “स्थानीयको सहभागिता र निजी क्षेत्रको सहकार्यबिना पर्यटन विकास सम्भव हुँदैन। महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै होटल, रेष्टुरेन्ट, मत्स्य व्यवसाय र अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो।
महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका–३१ लगायत विभिन्न संघसंस्था, कम्पनी, व्यवसायी तथा स्थानीयको सहयोग र सहकार्यमा हुने तयराी गरिएको आयोजकले जनाएको छ । उक्त महोत्सवले नेपाली पर्व तिहारको समेत महत्व बुझाउन मद्धत पुग्ने आयोजकले जनाएको छ ।






