
पोखरा, १४ असोज,
पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरा महानगरपालिकाले यसको निरन्तरताका लागि आगामी ३ देखि ४ महिना विशेष प्राथमिकताका साथ साथ दिन नागरिक, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा यात्रुलाई आग्रह गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले पोखराबाट सुरु भएको अन्तर्राष्ट्रिय उडानलाई एउटा हवाई सेवा मात्र नभई पोखरा र समग्र गण्डकीको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ। उहाँले सम्भव भएसम्म काठमाडौंको सट्टा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यात्रा गर्न आग्रह गर्नुभएको हो।
“तपाईं विदेश यात्रा गर्दै हुनुहुन्छ भने सम्भव भएसम्म पोखराबाटै यात्रा गर्ने योजना बनाउनुहोस्। तपाईंको एउटा यात्राले पोखराको अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सहयोग पुग्न सक्छ,” आचार्यले भन्नुभयो। महानगरका अनुसार सम्बन्धित एयरलाइन्सबाट प्राप्त जानकारीमा काठमाडौंको तुलनामा पोखराबाट दुबईको भाडा सस्तो रहेको जनाइएको छ। यात्रुका लागि भिसा, प्रहरी रिपोर्टलगायतका प्रक्रियामा सहजीकरण गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
यात्रुलाई सहज बनाउन पोखराका ट्राभल एजेन्सीहरूले टिकट, भिसा, प्रहरी रिपोर्ट र यात्रा प्याकेजको सेवा उपलब्ध गराइरहेका छन्। नाट्टा गण्डकीले समेत पोखरा–६, जरेबरस्थित कार्यालयमा विशेष डेस्क सञ्चालन गरेको जनाएको छ। फ्लाईदुबईले असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सुरु गरेको हो। प्रतिकूल मौसमका कारण एक दिन उडान प्रभावित भए पनि यात्रुको सहभागिता उत्साहजनक रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार सुरुआती केही महिना यात्रुको पर्याप्त सहभागिता देखाउन सके उडानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने आधार बन्न सक्छ। त्यसैले “तपाईं यात्रा गर्दै हुनुहुन्छ भने पोखराबाटै यात्रा गरौँ, पोखराको अन्तर्राष्ट्रिय हवाई भविष्य निर्माणमा आफ्नो ठाउँबाट साथ दिऔँ” भन्ने महानगरको आग्रह छ। दुईबाट आज १ सय ५५ जना र पोखराबाट दुबई तर्फ १ सय १० जना प्रस्थान गरेको बताइन्छ ।






