
पोखरा,
युवालाई सीप सिकाएर रोजगारी खोज्नेभन्दा उद्यम सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको व्यवसाय प्रवर्द्धन केन्द्र ९बीपीसी० पाँच वर्ष पूरा गरेको छ। पाँच वर्षको अवधिमा उद्यमशीलता विकास, सीप अभिवृद्धि, व्यवसाय परामर्श र बजार प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको केन्द्रले आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउने भएको छ।
केन्द्र स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय युवाको सीपलाई रोजगारी र व्यवसायसँग जोड्ने गरी केन्द्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उद्यम सुरु गर्न चाहनेलाई आवश्यक परामर्श, सहजीकरण र अवसर उपलब्ध गराउनु महानगरको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले व्यवसाय प्रवर्द्धन केन्द्रलाई महानगरको आर्थिक विकाससँग जोडिएको स्थायी र प्रभावकारी संस्थागत संयन्त्रका रूपमा विकास गरिने बताउनुभयो। केन्द्रका कार्यक्रमलाई परिणाममुखी बनाउँदै निजी क्षेत्रसँग सहकार्य विस्तार गरिने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगीले स्थानीय आर्थिक विकासका लागि उद्यमशीलता र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले व्यवसाय तथा औद्योगिक विकासका लागि महानगरसँग थप सहकार्य गर्न संघ तयार रहेको बताउनुभयो। लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायीको संरक्षणसँगै समावेशी व्यावसायिक विकासका लागि नीतिगत सहकार्य आवश्यक रहेको बताउनुभयो। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटनसँगै व्यावसायिक दक्षता र लगानीको वातावरण निर्माणमा सहकार्य आवश्यक रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्माले स्थानीय उद्यम तथा व्यवसायका सकारात्मक गतिविधिको प्रचारप्रसारमा जोड दिनुभयो।
आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले व्यावसायिक रूपमा सक्षम पोखरा निर्माण र सीप विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले सीप विकास, रोजगारी सिर्जना र व्यवसाय परामर्शका कार्यक्रम विभिन्न साझेदारसँगको सहकार्यमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। महानगरपालिकाले नेपाल सहरी उत्थानशीलता कार्यक्रम ९ल्ग्च्ए० तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९ग्ल्म्ए० को सहकार्यमा उद्यमशीलता तथा व्यवसाय इन्क्युबेसन केन्द्रको अवधारणाअनुसार बीपीसी विकास गरेको हो।पाँच वर्षमा केन्द्रले सीपमूलक तथा उद्यमशीलता विकास तालिमसँगै व्यवसाय योजना निर्माण, दर्ता तथा कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन, बजार पहुँच, ब्रान्डिङ, डिजिटल प्रविधि र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको छ। त्यसैगरी उद्यमीबीच नेटवर्किङ र साझेदारी विस्तार, नवप्रवर्तनमा आधारित व्यवसायलाई प्रोत्साहन, निजी क्षेत्र तथा विकास साझेदारसँग सहकार्य र स्थानीय उत्पादनको बजार विस्तारलाई पनि केन्द्रले प्राथमिकतामा राखेको छ। अब भने केन्द्रसामु तालिम दिने संस्थाबाट उद्यम सफल बनाउने संस्थागत संयन्त्रमा रूपान्तरण हुने चुनौती छ। सीप सिकेका युवालाई वास्तविक व्यवसायमा जोड्ने, उत्पादनको बजार सुनिश्चित गर्ने र निजी क्षेत्रसँग दिगो साझेदारी निर्माण गर्न सके बीपीसीले पोखराको स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सक्ने अपेक्षा गरिएको छ।




