तमु धिं नेपालको राहत अभियानमा ७० लाख भन्दा बढी संकलन

-


     पोखरा क्लिक     
     असाेज ४ गते २०८३ मा प्रकाशित


पोखरा ,

भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख ४७ हजार ४ सय ९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ। तमु धिं नेपालले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हुमबहादुर गुरुङले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भदौ १४ गतेदेखि राहत संकलन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार संकलित रकम तमु धिं नेपालको कार्यसमिति तथा विभिन्न समिति, तमु समाज, संघसंस्था, भाइखलक र चेलीबेटी परिवारलगायतबाट प्राप्त भएको हो। संकलित रकम तथा सहयोगदाताको विवरण सार्वजनिक गर्दै अध्यक्ष गुरुङले विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। “हामीले आह्वान गरेपछि स्वतःस्फूर्त रूपमा सहयोग जुटेको हो। कतिपयले सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत रकम जम्मा गर्नुभएको छ। तमु धिंअन्तर्गत विदेशमा रहेका नेपालीबाट पनि राहत रकम संकलन भइरहेको छ,” उहाँले भन्नुभयो।

तमु धिं नेपालले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। अध्यक्ष गुरुङको नेतृत्वमा टोलीले असोज ५ गते काठमाडौं पुगेर सम्बन्धित निकायलाई रकम हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी राहत अभियानमा सहयोग गर्ने दाताहरूको विवरण कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत हस्तान्तरण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो। तमु धिं नेपालले विपद्का बेला राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै अभियानमा सहभागी सम्पूर्ण सहयोगदाता, संस्था, समाज तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।