पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र अस्पताल निर्देशक नियुक्त

-


     पोखरा क्लिक     
     असाेज ४ गते २०८३ मा प्रकाशित


पोखरा, ४ असोज,

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा सहप्राध्यापक डा. डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डा. झपिन्द्र पोखरेल नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा.नारायणसिंह गुरुङले छनोट समितिको सिफारिसका आधारमा तिमीहरूलाई उक्त जिम्मेवारी दिएका हुन्। नवनियुक्त डीन श्रेष्ठ र अस्पताल निर्देशक पोखरेलले आज पदभार ग्रहण गरेका छन्। डीनमा नियुक्त श्रेष्ठ यसअघि पनि प्रतिष्ठानको डीनका रूपमा काम गरिसकेका छन्। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पुनः डीन बनेका उनले प्रतिष्ठानको शैक्षिक गुणस्तर सुधार, अध्ययन–अनुसन्धानको विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने बताएका छन्।

“प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुनेछ,” श्रेष्ठले भने। उनले व्यक्तिगत वा अन्य कुनै स्वार्थभन्दा माथि उठेर प्रतिष्ठानको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।अस्पताल निर्देशकमा नियुक्त पोखरेल वरिष्ठ अर्थोपेडिक्स तथा ट्रमा सर्जन हुन्। चिकित्सा सेवा, अध्यापन, अनुसन्धान तथा स्वास्थ्य प्रशासनमा लामो अनुभव हासिल गरेका उनले अस्पतालको सेवा प्रवाहलाई थप गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउने बताएका छन्।

“पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पहुँचयोग्य र प्रविधिमैत्री बनाउन म निरन्तर खट्नेछु,” पोखरेलले भने। डीन पदका लागि ६ जना र अस्पताल निर्देशक पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। छनोट समितिले उम्मेदवारहरूको मूल्याङ्कन गरी उपकुलपतिसमक्ष सिफारिस गरेको थियो। नयाँ नेतृत्वसँगै प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा क्षेत्रमा थप सुधार हुने अपेक्षा गरिएको छ।