गण्डकी प्रदेश सरकारले पनि मनायो संविधान दिवस

-


     पोखरा क्लिक     
     असाेज ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३ असोज,

गण्डकी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम सहित मनाएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले पोखरामा आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्दै राज्यका सबै निकाय र तहमा महिला, दलित तथा पछाडि परेका समुदायको सहभागितालाई सुनिश्चित गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख भट्टले संविधान केवल कानुनी दस्तावेज मात्र नभई लामो समयको संघर्ष, त्याग र योगदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख भट्टले संविधानले प्रत्याभूत गरेको विधिको शासन, धर्मनिरपेक्षता, सामाजिक न्याय तथा भौगोलिक एकतालाई बलियो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविधतायुक्त नेपाली समाजलाई संविधानले एकताको सूत्रमा बाँधेको उहाँको भनाइ थियो । नागरिकलाई सरल, पारदर्शी र गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुका साथै विकासका अवसरलाई समान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकार एकजुट भएर अघि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। विपद्को समयमा खोज, उद्धार, राहत तथा मानवीय सेवामा खटिने सबैलाई उहाँले धन्यवाद दिँदै आगामी दिनमा समेत विपद् व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको संघीयता राजनीतिक रूपमा कार्यान्वयन भए पनि प्रशासनिक तथा वित्तीय संघीयता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश र स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्न समेत कठिनाइ भइरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले संघीय निजामती सेवा, प्रहरी तथा वन लगायतका आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदा संघीयताको मर्म र भावना अनुसार काम हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा सभामुख कृष्ण प्रसाद धिताल, नेकपाका संसदीय दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव भूपाल बराल लगायतले संविधानको मर्म र भावना अनुसार अझै पनि संविधानको पूर्ण कार्वान्वयन हुन नसकेको बताउनु भयो । यसैबिच, पोखराको शहिद पार्कबाट र्याली निकालिएको थियो । शहिद पार्कमा मुख्यमन्त्री पाण्डे सहितका अन्य सहभागिहरुले शहिदहरु प्रति उच्च सम्मान गर्दै पुष्पअर्पण गर्नु भएको थियो ।