विरेठाँटी–घान्द्रुक सडक पुनः सुचारु

-


     पोखरा क्लिक     
     असाेज ३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३ असोज,

कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएर एक महिनादेखि अवरुद्ध नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पुनर्निर्माणपछि करिब एक महिना पछि पुनः सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–८, विरेठाँटीमा सडकको मुख्य संरचना नै बाढीले बगाएपछि अवरुद्ध बनेको सडक स्थानीय तह, प्रदेश सरकार, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, संघसंस्था तथा स्थानीयवासीको सहकार्यमा तीव्र गतिमा पुनर्निर्माण गरिएको पालिकाले पोखराक्लिकलाई जनाएको छ ।

गत साउन २२ गते मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजार आसपास तथा विरेठाँटी क्षेत्रमा सडकमा ठूलो क्षति पु¥याएको थियो । बाढीले सडकको जग नै कटान गरेपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँगको सडक सम्पर्क विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर (एबीसी) जाने पर्यटकसमेत प्रभावित भएका थिए । साउन २८ गते बेलुका दोश्रो चरणको बाढीले सडकको भाग पुर्ण रुपमा बगाएसंगै साउन २९ गतेदेखि सडक पूर्ण रुपमा ठप्प भएसंगै सबैको साथ र सहयोगले गर्दा करिब एक महिनामा क्षतिग्रस्त सडक पुनर्निर्माण गरी संचालनमा आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनु भयो । पुनर्निर्माणका लागि विभिन्न दाता तथा संघसंस्थाबाट करिब ८० लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ भने समग्रमा एक करोड रुपैयाँभन्दा बढीको पुनर्निर्माण कार्य सम्पन्न भएको उहाँले जनाउनु भयो । एक क्यापबाट मात्रै २० लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

जलविद्युत् आयोजनाहरूले पुनर्निर्माणका लागि जेसीबी, डोजर तथा अन्य आवश्यक मेसिन उपलब्ध गराएका थिए । मेसिन तथा टिपर सञ्चालनमा लाग्ने डिजेल खर्चलगायत व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी गाउँपालिकाले लिएको थियो । पुनर्निर्माणका क्रममा भदौ २ देखि ९ गतेसम्म मोदीखोलाको बहाव डाइभर्सन गरी सडक निर्माणका लागि आधार तयार गरिएको थियो । भदौ १० गतेदेखि ग्याबिन जाली भर्ने, ब्याकफिलिङ गर्ने तथा सडकको संरचना पुनर्निर्माण गर्ने काम अघि बढाइएको थियो । करिब दुई हजार घनमिटर ग्याबिन भर्नुपर्ने अवस्थामा नेपाली सेनासहित विभिन्न पक्षले निरन्तर श्रमदान गर्नु भएको थियो ।

नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गर्नु भएको थियो । गाउँपालिकाले अर्को क्षेत्रमा निर्माण व्यवसायीमार्फत समेत ग्याबिन भर्ने काम अघि बढाएको थियो। गण्डकी प्रदेश सरकारले ग्याबिन तारजाली उपलब्ध गराएको थियो भने अन्नपूर्ण गाउँपालिका–७ बाट आवश्यक ढुंगा तथा ग्राभेल व्यवस्थापन गरिएको थियो । सडक पुनर्निर्माणमा विभिन्न राजनीतिक दल, आमा समूह, चेलीबेटी समूह, भाइखलक, सामाजिक संस्था तथा देश–विदेशमा रहेका नेपालीले समेत सहयोग गरेका छन् । सडक पुनर्निर्माणको प्राविधिक व्यवस्थापनका लागि इन्जिनियर शैलेन्द्र क्षेत्रीको नेतृत्वमा दीपक लामिछाने, विमल भण्डारी र चक्र धितालसहितको प्राविधिक टोली निरन्तर खटिएको थियो ।

सडक सञ्चालनमा आएपछि घान्द्रुक, एबीसी तथा आसपासका पर्यटकीय क्षेत्रमा आवागमन सहज हुने भएको छ । लामो समयदेखि अवरुद्ध सडक पुनः सञ्चालनमा आएपछि स्थानीयवासीसँगै पर्यटन व्यवसायी र पर्यटकले समेत राहत महसुस गरेका छन् । सडक पुनर्निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाता, सरकारी निकाय, नेपाली सेना, जलविद्युत् आयोजना, राजनीतिक दल, संघसंस्था, स्थानीयवासी तथा देश–विदेशमा रहेका सहयोगदाताप्रति अन्नपूर्ण गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ । अन्नपूर्ण गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषमार्फत आर्थिक स्रोत जुटाउँदै स्थानीय, प्रदेश सरकार, सुरक्षा निकाय, जलविद्युत् आयोजना तथा विभिन्न संघसंस्थासँग समन्वय गरेको थियो ।