विपद् प्रभावितका लागि पोखरा रोयल सहकारीद्वारा ३ लाख ५२ हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १८ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १८,

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ लाख ५२ हजार १ सय सहयोग गरेको छ। ‘आहतमा राहत, सहकार्यमा सहकारी’ भन्ने भावनासहित सहकारीले संस्था, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारी परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।

सहकारीका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले देशका विभिन्न जिल्लामा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताउनुभयो। उहाँका अनुसार विपद्को समयमा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु संस्थाको सामाजिक दायित्वसमेत भएकाले सहकारी परिवारको सामूहिक सहभागितामा रकम संकलन गरी सहयोग गरिएको हो। सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङले सहकारी संस्था नाफा आर्जन गर्ने माध्यम मात्र नभई समाजमा सहकार्य, सहयोग र सेवाको भावना विकास गर्ने संस्थाका रूपमा समेत अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले विपद्को समयमा पीडितको साथमा उभिनु सहकारीको सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्नुभयो।

“मानवीय सेवाका लागि कुनै सीमित कार्यक्षेत्र र मापदण्ड हुँदैन। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु हाम्रो साझा दायित्व हो,” अध्यक्ष गुरुङले भन्नुभयो। सहकारीले विपद्बाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै सहयोग, सद्भाव र सहकार्यका लागि सबैमा अपिलसमेत गरेको छ। बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहकारीले शोकसन्तप्त परिवारजनमा समवेदना तथा बेपत्ताको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पोखरा–१०, बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीमा हाल १० हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन्। सहकारीको कुल पुँजी करिब रु। २ अर्ब ५० करोड पुगेको संस्थाले जनाएको छ। सहकारीले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। विपद्, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा सहकारीको सहभागिताले संस्थालाई सदस्यकेन्द्रित वित्तीय संस्थासँगै सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाका रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।