
पोखरा, भदौ १८,
पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बाल स्वास्थ्य तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। विद्यालयमा क्रियाशील नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबार सम्पन्न शिविरमा विद्यार्थीहरूको स्वास्थ्य तथा दन्त परीक्षणसँगै स्वास्थ्य सरसफाइ र मानवीय सेवाबारे सचेतना अभिवृद्धि गरिएको हो।

नेपाल जुनियर रेडक्रस सर्कल, राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा ८८ हरिचोक पोलिक्लिनिक प्रा.लि. र एस. श्री डेन्टल केयर प्रा.लि.को प्राविधिक सहयोग रहेको थियो। शिविरमा विद्यार्थीहरूको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नियमित रूपमा दाँत माझ्ने, सही तरिकाले मुख तथा दाँतको सरसफाइ गर्ने, स्वस्थ खानपान अपनाउने तथा समय–समयमा दन्त परीक्षण गराउनुपर्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए। कार्यक्रमको अध्यक्षता जुनियर रेडक्रस सर्कलका अध्यक्ष अनुस्का भुगाइले गर्नुभएको थियो। बालरोग विशेषज्ञ डा. विधान घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको कार्यक्रममा उहाँले बालबालिकाको समग्र स्वास्थ्यमा दन्त स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सानै उमेरदेखि स्वास्थ्य, सरसफाइ र नियमित स्वास्थ्य परीक्षणको बानी विकास गर्न सके भविष्यमा विभिन्न स्वास्थ्य समस्याबाट जोगिन सकिने बताउँदै डा। घिमिरेले विद्यार्थीलाई आफ्नो स्वास्थ्यप्रति सचेत बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा जुनियर रेडक्रस सर्कलकी सहशिक्षक नायक प्रतिभा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। जुनियर रेडक्रस सर्कलकी सचिव विविशा ढकालले रेडक्रसका सात आधारभूत सिद्धान्त वाचन गर्नुभएको थियो। कार्यक्रममा जुनियर रेडक्रसको उद्देश्य, मानवीय सेवा तथा विपद्का समयमा विद्यार्थीले निर्वाह गर्न सक्ने भूमिकाबारे समेत जानकारी गराइएको थियो। विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत रहनुका साथै सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सक्रिय सहभागी हुन आग्रह गर्नुभयो। उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक ज्ञान, अनुशासन, सहयोग र सेवाको भावना आवश्यक रहेको बताउनुभयो।
यसैबीच, नेपाल जुनियर रेडक्रस सर्कल, राष्ट्रिय माध्यमिक विद्यालयको संयोजनमा विद्यार्थीहरूले बाढी तथा विपद् प्रभावितको सहयोगका लागि रु। २६ हजार ६१० संकलन गरेका छन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोगस्वरूप प्रदान गरिएको हो। विपद्का समयमा विद्यार्थीहरूले समेत आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण भएको सहभागीहरूले बताएका छन्। स्वास्थ्य परीक्षणसँगै विपद् प्रभावितका लागि सहयोग जुटाउने कार्यले विद्यार्थीमा स्वास्थ्य सचेतना, मानवीय भावना र सामाजिक उत्तरदायित्व विकास गर्न थप प्रेरणा मिलेको उनीहरूको भनाइ थियो। विद्यालयमा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी स्वास्थ्य, सरसफाइ, सेवा, सहयोग र मानवीय संवेदनाजस्ता व्यवहारिक पक्षसँग जोड्ने प्रयास गरेको छ। सहभागीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, जुनियर रेडक्रस सर्कलका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जुनियर रेडक्रस सर्कलका शिक्षक नायक सूर्य रिजालले गर्नुभएको थियो।





