रसुवा बाढीका पीडित प्रहरीलाई राहत र राज्य कोषमा प्रहरीको ४० करोड सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, १७ भदौ,

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत उपलब्ध गराउने भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नीति निर्माण समितिको बैठकले बाढीमा परी दिवंगत भएका प्रहरीका परिवारलाई तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट उपलब्ध गराइने प्रहरीले बताएको छ ।

बैठकले बाढीमा बेपत्ता भएका प्रहरीहरूको खोजी कार्यलाई तीव्रता दिन विशेषज्ञ टोलीसहित परिवारको समन्वयमा प्रभावकारी परिचालन गर्ने निर्णय गरेको छ । ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा गर्ने, उनीहरूका आश्रित परिवारका एक सदस्यलाई सीपमूलक तालिम र रोजगारीका लागि पहल गर्ने तथा सन्ततिहरूलाई प्रहरी आवासीय विद्यालयहरूमा उच्च शिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइने भएको छ ।

बाढीबाट क्षति पुगेका टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीका प्रहरी एकाइमा कार्यरत कर्मचारीहरूलाई व्यक्तिगत सामग्रीको क्षतिबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय पनि भएको छ । यी सबै प्रक्रिया र परिवारसँगको समन्वयका लागि मानवस्रोत विकास विभागका एक सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकिएको प्रहरीले बताएको छ ।
यसैगरी, रसुवा बाढीले पु¥याएको समग्र क्षतिको राहत स्वरूप नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ योगदान गर्ने निर्णय समेत गरेको छ ।