भजन तथा रत्यौली बाट संकलन एवं तीजको दर खानका लागि छुट्याइएको रकम बाढी प्रभावितलाई

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा, भदौ १५,

रसुवा तथा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले महिला मिलन समूह, नदीपुर–३, पोखराले एक लाख रुपैयाँ सहयोग गरेको छ । समूहकी अध्यक्ष बिन्दु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। विपद्का कारण पीडामा रहेका परिवारलाई राहत र हौसला प्रदान गर्ने उद्देश्यले समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जनाउनु भयो ।

विभिन्न अवसरमा नाच, भजन तथा रत्यौली कार्यक्रममार्फत संकलन गरिएको रकममध्ये तीजको दर खानका लागि छुट्याइएको रकम तथा समूहका सदस्यहरूले आफ्नो क्षमताअनुसार गरेको व्यक्तिगत सहयोगसमेत जोडेर एक लाख रुपैयाँ संकलन गरिएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । विपद्मा परेका परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास समूहले व्यक्त गरेको छ।

महिला मिलन समूहले आफ्नो सहयोगलाई ठूलो आर्थिक योगदानका रूपमा नभई विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता, मानवीय संवेदना र सहयोगको भावनाका रूपमा लिएको जनाएको छ। “हाम्रो यो सानो सहयोगले बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीलाई केही राहत र हौसला मिलोस् भन्ने हाम्रो चाहना हो,” समूहले जनाएको छ। रसुवालगायत विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा महिला मिलन समूहले विपद्को समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ।