कल्प मिडिया कप फुटसलको मुख्य सहयोगीमा ’सीडीएच’

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८३ मा प्रकाशित



कल्प मिडियाको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को मुख्य सहयोगीमा चर्चित क्याफ्टेरिया ‘सीडीएच’ रहेको छ । पोखराको लेकसाइडस्थित गौरीघाटमा रहेको क्याफे डी हिमालयज (सीडीएच)का सीइओ मनोज गुरुङ र कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौतामा सीडीएच मुख्य सहयोगकी रहने बताइएको छ ।

पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् । अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए । खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने उनले प्रष्ट पारे । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गर्नु पर्ने छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । सीडीएचको कफी प्रशोधन गर्ने ‘ब्लूसीप’ आउटलेट र न्यूरोडमा कफी एकेडेमिक्स नामक बारिस्ता तालिम सेन्टर रहेको छ ।