राइट टु प्रोटिन रनको पाँचौं संस्करण असोज ३ गते पोखरामा हुने करिब ४ हजार धावक सहभागी हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ४ भदौ,

प्रोटिनयुक्त आहार, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन–२०२६’ को पाँचौं संस्करण आगामी असोज ३ गते पोखरामा हुने भएको छ । प्रतियोगितामा करीब ४ हजार भन्दा बढी धावक सहभागिता गराउने लक्ष्य राखिएको आयोजक नेपाल दाना उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो ।

प्रतियोगिता पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने भएको छ भने हाप म्याराथन सहित विभिन्न ८ वटा विधामा प्रतियोगिता हुने भएको प्रतियोगिताका संयोजक समेज राजभण्डारीले बताउनु भयो । मुख्य प्रायोजक यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसईसी) तथा प्राविधिक सहयोगी नेपाल एथलेटिक्स संघ रहेको प्रतियोगितामा विजेताहरुलाई पुरस्कार स्वरुप १६ लाख रुपैया प्रदान गरिने भएको उहाँले जनाउनु भयो ।

प्रतियोगिता अन्तर्गत पुरुष र महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, पुरुषतर्फ १० किलोमिटर खुला दौड, महिलातर्फ ५ किलोमिटर खुला सडक दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पुरुषतर्फ ५ किलोमिटर र महिलातर्फ ३ किलोमिटर दौड सञ्चालन हुने भएको छ । त्यस्तै, ह्विलचेयरतर्फ पुरुष र महिलाका लागि ३–३ किलोमिटर दौड समावेश गरिएको छ । हाफ म्याराथनको पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ, द्वितीयले १ लाख, तेश्रोे ५० हजार, चौथो हुनेले ३० हजार र पाँचौं हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, पुरुषतर्फको १० किलोमिटर र महिलातर्फको ५ किलोमिटर खुला दौडमा प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलार्ई १५ हजार र पाँचौं हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । विद्यालय तथा ह्विलचेयरतर्फका सबै विधामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तेश्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाचौं हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । नियमानुसार २५ प्रतिशत कर कट्टीपछि विजेतालाई कुल १२ लाख ८० हजार रुपैयाँ वितरण गरिने आयोजकले जनाएको छ ।

दौड लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुकसम्म पुगेर सोही मार्गबाट बसुन्धरा पार्कमै फर्किएर सम्पन्न हुनेछ । दौडलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गरिने आयोजकले जनाएको छ । दौड मार्गका विभिन्न स्थानमा खानेपानी, हाइड्रेसन स्टेसन, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराइनुका साथै एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

राइट टु प्रोटिन रन सन् २०१९ देखि सञ्चालन हुँदै आएको अभियान हो । खेलकुदलाई पोषण, स्वास्थ्य, कृषि तथा पर्यटनसँग जोड्दै आएको प्रतियोगिताले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ । प्रतियोगिता केवल दौड प्रतियोगितामा सीमित नभई युवा, विद्यार्थी, महिला, खेलाडी तथा परिवारमा दैनिक प्रोटिनको आवश्यकता, सन्तुलित पोषण र शारीरिक सक्रियताको महत्वबारे चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइएको युवा व्यवसायी एवं युएसएसईसीका सदस्य डा. असेस भट्टराईले बताउनु भयो । साथै पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य समेत रहेको उहाँले जनाउनु भयो ।