भदौ २० गते पोखरा–२२ पुम्दीभुम्दीमा हुने वडा स्तरीय खुला तीज गीत प्रतियोगिताको तयारी तिव्र

-


     पोखरा क्लिक     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दीमा हुने वडा स्तरीय खुला तीज गीत प्रतियोगिता–२०८३ को तयारी तिव्र पारिएको छ। कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सिर्जनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटरबाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा यही भदौ २० गते शनिबार हुने प्रतियोगिताको तयारी तिव्र पारिएको कालिमाटी शान्ति स्तुप टोल बिकास सस्थाका अध्यक्ष दिनेश बरालले बताए ।

वडा नं। २२ स्थित बाटोमुनिको लिला आधारभूत विद्यालयको खेल मैदानमा बिहान ९:३० बजेदेखि आयोजना हुने प्रतियोगितामा वडा क्षेत्रभित्रका विभिन्न टोलका आमा समूह, महिला समूह, दिदीबहिनी तथा संघसंस्थाहरूको सहभागिता रहने उनले जनाए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १५ हजार, १० हजार र ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सान्त्वना पुरस्कारस्वरूप ३ हजार रुपैयाँसहित विभिन्न विधामा समेत पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा वडा नं. २२ भित्रका संघसंस्था, महिला समूह, आमा समूह तथा दिदीबहिनीहरूको समूह सहभागी हुन सक्नेछन्। प्रत्येक टोलीमा कम्तीमा ५ जना र बढीमा १० जना सदस्य हुनुपर्नेछ। सहभागी टोलीले ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा तीज गीतसँगै भेषभूषा, प्रस्तुति, मौलिकता, आपसी तालमेल, लय, शब्द तथा विषयवस्तु लगायतका विभिन्न पक्षलाई मूल्यांकनको आधार बनाइनेछ। प्रतियोगिताका लागि आयोजकले तीजको मौलिकता र सांस्कृतिक पहिचानको संरक्षण, महिलाको उत्थान तथा सशक्तीकरण, सामाजिक सद्भाव र आपसी एकता, समाज सुधार तथा समसामयिक सामाजिक विषयमा सकारात्मक परिवर्तन र वैदेशिक रोजगारीका कारण उत्पन्न सामाजिक तथा पारिवारिक अवस्थालाई विषयवस्तुका रूपमा निर्धारण गरिएको कार्यक्रम संयोजक शारदा अधिकारी बरालले बताइन् ।

प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न वडा नं. २२ बाहिरका गीत–संगीत क्षेत्रमा आबद्ध अनुभवी तथा विज्ञ व्यक्तित्वहरूलाई निर्णायकका रूपमा सहभागी गराउने तयारी गरिएको उनले जनाइन् । प्रतियोगिताका क्रममा कुनै विवाद वा समस्या उत्पन्न भएमा निर्णायक मण्डल तथा आयोजकको निर्णय नै अन्तिम र मान्य हुने बताइएको छ। प्रतियोगितामा प्रस्तुतीकरणका लागि आवश्यक मादल, बाँसुरीलगायतका वाद्यवादनको व्यवस्था आयोजकले गर्नेछ। तीज गीत प्रतियोगितालाई थप मनोरञ्जनात्मक, आकर्षक र सहभागितामूलक बनाउन विभिन्न रमाइला खेल तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

स्थानीय कला, संस्कृति तथा मौलिक तीज परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै वडा नं. २२ का महिला तथा आमा समूहबीच आपसी एकता, सद्भाव र सिर्जनात्मकताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले तीज पर्वको मौलिकता र सांस्कृतिक पक्षलाई जोगाउँदै स्थानीय महिला प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। साथै, यसले वडा नं। २२ को कला, संस्कृति र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



This will close in 20 seconds