अविरल वर्षापछि फिर्के पुल पूर्णरूपमा भत्कियो

-


     पोखरा क्लिक     
     भाद्र ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३, भदौं

अविरल वर्षाका कारण पोखरा महानगरपालिका–५ र ८ जोड्ने फिर्के पुल गएराति पूर्णरूपमा भत्किएको छ। गण्डकी प्रदेश सभा, कृषि मन्त्रालय तथा रेडियो नेपाल प्रादेशिक कार्यालयतर्फ जाने सडकमा पर्ने उक्त पुल लामो समयदेखि जोखिममा रहेपछि करिब एक महिनाअघिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

पुल भत्किएपछि पैदल यात्रुका लागि समेत जोखिम बढेको छ। पुलको भत्किएको कंक्रिट तथा अन्य संरचनाले फिर्के खोलाको पानीको बहावमा अवरोध पुर्‍याएको छ। यसका कारण पानी जम्ने तथा थप क्षति हुनसक्ने जोखिम बढेको स्थानीयले बताएका छन्। पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने बताउनुभएको छ। उहाँका अनुसार करिब ५० वर्षअघि निर्माण भएको पुल १५ वर्षअघि पुनः मर्मत गरिएको थियो।

पुल पूर्णरूपमा भत्किएपछि अब नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष बरालले बताउनुभयो। “वडाको बजेटले मात्रै नयाँ पुल निर्माण गर्न सम्भव छैन, त्यसका लागि महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्छ,” उहाँले भन्नुभयो। हाल पुल आसपासको क्षेत्र जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई अनावश्यक रूपमा त्यहाँ नहिँड्न आग्रह गरिएको छ। महानगरपालिका र वडा कार्यालयले तत्काल भत्किएको संरचना हटाई पानीको बहाव सहज बनाउने तथा थप क्षति रोक्ने काम अघि बढाउनुपर्ने स्थानीयको माग छ। तष्विर घनश्याम पाण्डे ।