
पोखरा,
पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने उद्देश्यले आयोजित ‘र्यान्डम रिर्डस सोसाइटी’को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले ‘साहीमासा’ माथि कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिवले गरेका थिए।

परिचर्चाका क्रममा ‘साहीमासा’मा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका विविध अनुभूतिका विषयमा गहन बौद्धिक अन्तरसंवाद भएको थियो। कार्यपत्र प्रस्तुति, लेखक समिप वैरागीको धारणा तथा सहभागी पाठकहरूका जिज्ञासा, टिप्पणी र प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण र जीवन्त बनाएको आयोजकले जनाएको छ। परिचर्चाले ‘साहीमासा’लाई केवल कविताको कृतिका रूपमा मात्र नभई समुदाय, संस्कृति, प्रेम र जीवनका बहुआयामिक अनुभूतिको सशक्त अभिव्यक्तिका रूपमा बुझ्ने अवसर प्रदान गरेको थियो। कार्यक्रममा साहित्य, पठन संस्कृति र बौद्धिक विमर्शको महत्त्वबारे समेत चर्चा गरिएको थियो। पठनलाई संवादसँग, संवादलाई विचारसँग र विचारलाई समाजसँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको यस शृङ्खलाले लेखक र पाठकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्दै आएको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन समय, विचार र सहभागिता प्रदान गर्ने लेखक बिन्दा पाण्डे, अवधारणा–पत्रमार्फत योगदान गर्ने स्ट्रगल राना तथा आफ्ना जिज्ञासा, टिप्पणी र विमर्शमार्फत कार्यक्रमलाई जीवन्त बनाउने सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ। आयोजकले आगामी दिनमा पनि यस्ता साहित्यिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिँदै पठन संस्कृतिको प्रवर्द्धन र साहित्यिक विमर्शको विस्तारमा सक्रिय रहने जनाएको छ।




