सिंगापुरबाट फर्किए देउवा, सनरुफबाट समर्थकलाई हात हल्लाउदै अभिवादन व्यक्त गरे देउवाले

-


     पोखरा क्लिक     
     श्रावण २८ गते २०८३ मा प्रकाशित


काठमाडौं,

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार काठमाडौं फर्किएका हुन्।

तश्विर सामाजिक संजाल

जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पदबाट हटाइएका देउवा उपचारका लागि देशबाहिर थिए। स्वदेश फर्किएलगत्तै उनलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा समर्थक तथा शुभेच्छुकहरू पुगेका थिए। विमानस्थलबाट प्रहरीको स्कर्टिङ र समर्थकहरूको भीडबीच बाहिरिएका देउवाले गाडीको सनरुफबाट निस्किएर उपस्थित समर्थकलाई अभिवादन गरेका थिए। उनी सनरुफबाट बाहिरिँदा काठमाडौंमा पानी परिरहेको थियो। स्वदेश फर्किएकै दिन देउवाले अपिल जारी गर्दै वर्तमान सरकारले जनताको पछिल्लो मत र परिवर्तनको आकांक्षालाई सम्मान गर्नुपर्ने बताएका छन्। उनले परिवर्तन सहज प्रक्रिया नभएको उल्लेख गर्दै त्यसका लागि धैर्य, साहस र दृढता आवश्यक पर्ने धारणा राखेका छन्। देउवाले जनतामा देखिएको परिवर्तनको चाहनालाई सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्। सरकार आफ्नो जिम्मेवारीबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भए त्यसले सत्तारुढ दलसँगै मुलुकलाई समेत नोक्सान पुर्‍याउने उनको चेतावनी छ।

ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको मतको सम्मान गर्नुपर्नेमा जोड दिँदै देउवाले लोकतन्त्रमा अन्तिम शक्ति जनता नै हुने बताएका छन् । उनले परिवर्तन व्यवस्थापनको प्रक्रियामा आफूहरूबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि जनाएका छन्। कुनै पनि रूपान्तरण हतारमा नभई विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ । देउवाको स्वदेश फिर्तीका क्रममा विमानस्थलदेखि बाहिरिने क्षेत्रसम्म समर्थकहरूले नाराबाजीसहित भव्य स्वागत गरेका थिए ।