
दीननाथ बराल,
पोखरा, २६ असोज,
नेपालीहरुको बडादशैं नजिकिँदै गर्दा पोखरामा हिमाली भेडा–च्याङ्ग्राको कारोबार बढेको छ । दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्री वितरणका लागि हालसम्म १३ हजार भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । मुस्ताङका स्थानीय खोरपालुवा भेडा–च्याङ्ग्रासँगै हुम्ला, जुम्ला र डोल्पाका भेडा–च्याङ्ग्रा पनि बजारमा भित्रिएपछि पोखरामा दशैंको रौनक थपिएको हो ।
पोखराको याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा–च्याङ्ग्रा बिक्री गर्न थालिएको छ । याम्दी क्षेत्रमा पछिल्ला दिनमा भेडा–च्याङ्ग्रा किन्ने र अवलोकन गर्नेको चहलपहल बढेको छ । यस वर्ष मुस्ताङ सहित हुम्ला र जुम्लाबाट आएका भेडा–च्याङ्ग्रा तुलनात्मक रूपमा केही सहुलियत मूल्यमा बिक्री भइरहेका छन् भने मुस्ताङका स्थानीय खोरपालुवा भेडा–च्याङ्ग्राको मूल्यसमेत घट्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।
मुस्ताङको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार हालसम्म स्थानीयसहित हुम्ला, जुम्ला र डोल्पाका १३ हजार भेडा–च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका छन् । कार्यालयका डा. लालमणि अर्यालले सडक खुला भएसँगै थप भेडा–च्याङ्ग्रा बाहिरिने सम्भावना रहेको बताउनु भयो । उहाँका अनुसार बाहिरी जिल्लामा पठाउनुअघि भेडा–च्याङ्ग्राको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको छ । पशुको अवस्था हेरेर प्रतिगोटा पाँचदेखि १० रुपैयाँसम्म स्वास्थ्य परीक्षण शुल्क लिने गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै भेडा–च्याङ्ग्रा बाहिर पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
रोज्जा च्याङ्ग्रा ४२ हजारसम्म
पोखराको याम्दी क्षेत्रमा अहिले भेडा–च्याङ्ग्राको मूल्य आकार, तौल र गुणस्तरअनुसार फरक–फरक छ । स्थानीय खोरपालुवा रोज्जा भेडा–च्याङ्ग्रा प्रतिगोटा ३५ हजारदेखि ४२ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायी चन्द्रबहादुर रोकायले बताउनु भयो । हुम्ला र जुम्लाबाट आएका भेडा–च्याङ्ग्रा भने तुलनात्मक रूपमा केही सस्तोमा पाउन सकिने व्यवसायीहरूको भनाइ छ । यस वर्ष २२५ वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याउनु भएको रोकायले गत वर्ष करिब छ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको गुनासो गर्नुभयो । यस वर्ष बजारको अवस्था अनुकूल रहे गत वर्षको घाटा पूर्ति गर्ने उहाँको लक्ष्य रहेको छ ।
“गत वर्ष ठूलो घाटा भयो । यस वर्ष बजारमा कारोबार राम्रो हुने र अघिल्लो वर्षको घाटा असुल हुने आशा गरेको छु,” उहाँले भन्नुभयो । भेडा–च्याङ्ग्रा बिक्रीका लागि याम्दी क्षेत्रमा बनाइएका अस्थायी खोरको व्यवस्थापन भने व्यवसायीका लागि चुनौती बनेको छ । रोकायका अनुसार एउटा खोर प्रयोग गरेबापत ३० हजार रुपैयाँ शुल्क तिर्नुपरेको छ । तर, त्यहाँ शौचालय र पानीको समेत पर्याप्त व्यवस्था नभएको उहाँले गुनासो गर्नुभयोे । भेडा–च्याङ्ग्रा राख्ने खोरको शुल्क महँगो भए पनि आधारभूत सुविधा नहुँदा व्यवसायीलाई थप समस्या भएको उहाँको भनाइ छ ।
हिमाली क्षेत्रमा प्राकृतिक चरनमा हुर्किएका भेडा–च्याङ्ग्राको मासुप्रति उपभोक्ताको आकर्षण रहँदै आएको छ । स्थानीयका अनुसार यार्सागुम्बासहित विभिन्न वनस्पति पाइने हिमाली चरन क्षेत्रमा हुर्किएका च्याङ्ग्राको मासु स्वादिलो हुने विश्वास गरिन्छ । यद्यपि, मासुको गुणस्तर र खाद्य सुरक्षाका लागि पशुको स्वास्थ्य अवस्था तथा मासुको स्वच्छतामा ध्यान दिनुपर्ने सरोकारवालाहरू बताउँछन् । दशैंको परम्परागत खानाका रूपमा भेडा–च्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेकाले पोखरामा हरेक वर्ष यस समयमा कारोबार बढ्ने गर्छ ।






