
पोखरा, साउन,
भारतीय दुईपांग्रे निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ‘भिदा’ ले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा रोज्दै औपचारिक रुपमा बिक्री सुरुवात गरेको छ । कम्पनीले नेपालमा विद्युतीय स्कुटर भिदा भिएक्स २ इभीओटर सिरिज तथा युवा लक्षित विद्युतीय अफ–रोड मोटरसाइकल पनि सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार नेपालमा भिदाको उत्पादन सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत बिक्री वितरण गरिनेछ। हिरो मोटोकर्पले भारतबाहिर पहिलो पटक यो ब्रान्ड विस्तार गरेको जनाएको छ । दुवै स्कुटरमा निकाल्न मिल्ने ब्याट्री, फास्ट चार्जिङ, घरमै सामान्य पाँच एम्पियरको सकेटबाट चार्ज गर्न सकिने सुविधा, नेभिगेसन, जियो–फेन्सिङ तथा ओभर–द–एयर सफ्टवेयर अपडेटजस्ता स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले किशोर तथा युवा राइडरलाई लक्षित गर्दै भिदा डर्ट विद्युतीय अफ–रोड बाइक पनि बजारमा ल्याएको छ। यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार समायोजन गर्न सकिने तथा एपमार्फत सञ्चालन हुने नियन्त्रणको सुविधा रहेको छ। कम्पनीका अनुसार बाइकमा तीनवटा स्पिड मोड उपलब्ध छन् र एकपटकको चार्जमा प्रयोगको अवस्थाअनुसार करिब तीन घण्टासम्म सञ्चालन गर्न सकिन्छ।
हिरो मोटोकर्प अन्तर्गतको ब्यापार शाखाकी प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमार ले नेपालबाट भिदाको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन्। नेपाल विद्युतीय सवारीका लागि सम्भावना बोकेको बजार भएकाले भारतीय प्रविधिमा विकसित उत्पादन नेपाली ग्राहकसम्म ल्याइएको उनले बताइन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी ले नेपाल हरित यातायाततर्फ अघि बढिरहेको अवस्थामा भिदाको आगमनले विद्युतीय दुईपांग्रे बजारलाई थप गति दिने विश्वास व्यक्त गरे। हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय छ। कम्पनीले भिदा ब्रान्डमार्फत विद्युतीय सवारी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै स्मार्ट र दिगो यातायातलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीका अनुसार सार्वजनिक गरिएका स्कुटर र मोटरसाइकलको रेन्ज, गति तथा चार्जिङ समय आन्तरिक परीक्षणका आधारमा निर्धारण गरिएको हो। वास्तविक प्रयोगमा सडक, मौसम तथा सञ्चालनको अवस्थाअनुसार ती विवरण फरक हुन सक्ने कम्पनीले उल्लेख गरेको छ।







