
पोखरा,
रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना जिसिआरयु परियोजना अन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ। सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा बदल्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
तालिमको उद्घाटन गर्दै परियोजनाकी राष्ट्रिय परियोजना प्रबन्धक यमुना सिल्वालले हरित रोजगारी प्रवद्र्धन र वातावरणीय दिगोपनामा यस तालिमको विशेष महत्त्व रहेको बताइन् । उनले चक्रिय अर्थतन्त्रका अभ्यासहरूले समुदायलाई आर्थिक रूपमा सशक्तीकरण गर्न ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । परियोजनाका मिल एण्ड कम्युनिकेसन विश्लेषक शशी थापाले सहभागीहरूलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र आफ्नो जीविकोपार्जनमा सुधार ल्याउँदै स्वच्छ र हरित पोखरा निर्माणमा योगदान दिन प्रोत्साहित गरे । विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं मुख्य प्रशिक्षक सविता श्रेष्ठले तालिमको पाठ्यक्रमबारे जानकारी दिँदै ३० दिनभित्रै सहभागीहरूले पुराना कपडा प्रयोग गरी बजारयोग्य र गुणस्तरीय सामग्री तयार पार्न सक्ने बताइन् ।उनले प्रशिक्षार्थीहरूलाई स्वरोजगार बन्न र पोखराको हरित अभियानलाई सफल बनाउन आग्रह गरिन ।
तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका १८ वटा रिसाइक्लिङ तथा अपसाइक्लिङ समूहका ३२ जना महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरूले पुनः प्रयोग गरिएका कपडाबाट झोला, फूलको गुच्छा, गुडिया निर्माण गर्ने र मकैको खोस्टाबाट सजावटका फूल तथा उपहार सामग्री बनाउने सीप सिक्नेछन्। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई आफ्नै उद्यम स्थापना गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजकका तर्फबाट सिलाई मेसिनसमेत उपलब्ध गराइने बताइएको छ। क्लिन अप नेपालको सहजीकरणमा सञ्चालित यो तालिम विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्र, अमरसिंहचोकमा भइरहेको छ। कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी कोइका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा पोखरा महानगरपालिकासँगको सहकार्यमा यो परियोजना कार्यान्वयन भइरहेको छ। परम्परागत प्रयोग र फ्याँक्ने अर्थतन्त्रको सट्टा फोहोरको न्यूनीकरण र पुनः प्रयोगमार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य परियोजनाले राखेको जानकारी आयोजकले दिएको छ ।







