घरेलु टोली कास्कीलाई पराजित गर्दै स्याङजाले जित्यो तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि

-


     पोखरा क्लिक     
     असार १७ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १७ असार,

घरेलु टिम कास्कीलाई स्याङजाले लिगको अन्तिम खेलमा पराजित गर्दै गण्डकी प्रदेशस्तरीय तेस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा आज (बुधबार) सम्पन्न लिग चरणको अन्तिम खेलमा पनि घरेलु टिम कास्की माथि ७१ रनको फराकिलो अन्तरले जित हासिल गर्दै स्याङजाले उक्त उपाधि हात पार्न सफल भएको हो ।

चिरप्रतिद्वन्द्वी कास्कीलाई ७१ रनले पराजित गर्दै स्याङजाले उपाधि सहित नगद ३० हजार हात पार्न सफल भएको हो । लिगका चारवटै खेल जितेर ८ अंकसहित स्याङजा शीर्ष स्थानमा रहँदा कास्की भने ६ अंक सहित उपबिजेता भएको छ । फाइनलमा टस जितेर फिल्डिङ रोजेको कास्कीले स्याङजा सामु जित निकाल्न सकेन् । निर्धारित २० ओभरमा स्याङजाले ८ विकेटको क्षेत्रमा १ सय १० रनको योगफल तयार पार्यो । १ सय ११ रनको लक्ष्य पाएको कास्कीले भने १६ ओभरमै अल आउट हुँदा ३९ रनमै सिमित भयो । कास्कीकी रेखा तामाङले १२, चन्द्रमाया बरालले १० रनको योगदान दिनुभयो । स्याङजाकी रविनाले ३, सिमाना केसीले ३ निरु जीटीले २ विकेट लिनु भएको थियो । स्याङजाकी ज्योत्स्निका मरासिनीले १४ तथा अरमिना अधिकारीले १८ रन जोड्दा सलिना सेनले ३ चौकासहित सर्वाधिक २२ रनको योगदान दिनुभयो । कास्कीका यशोदा भुजेल र मुस्कान जैसवालले समान २–२ विकेट लिनु भएको थियो ।

फाइनलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेकी रविना बुढामगर प्लेयर अफ द म्याच घोषित हुनुभयो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) समेत घोषित हुनु भएको उहाँले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट ब्याटर कास्कीकी चन्द्रमाया बराल तथा उत्कृष्ट बलर स्याङजाकी सिमाना केसी घोषित हुनुभयो । पर्वतकी जीविका क्षेत्री उदियमान खेलाडी घोषित हुनु भयो ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले यस्ता प्रतियोगिताले महिला क्रिकेटको विकाससँगै नयाँ प्रतिभा उत्पादन र खेलाडीमा उत्साह बढाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो । विजेता तथा उपविजेता टोलीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्की, कोषाध्यक्ष दिवाकर थापा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका पाँच जिल्लाका टोलीको सहभागिता रहेको थियो भने प्रतियोगिता सम्पन्न गर्न प्रदेश खेलकुद परिषद् गण्डकीले सहयोग गरेको आयोजकले जनाएको छ ।