
पोखरा १६, असार,
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ अन्र्तगत स्याङ्जा शीर्ष स्थानमा रहेको छ । लिगका ३÷३ खेलमा जित हासिल गरेका स्याङजा र कास्कीको समान ६÷६ अंक रहे पनि रनरेटका आधारमा स्याङजा शिर्ष स्थानमा रहेको हो ।
लिग विजेता भोलि (बुधबार) हुने खेलबाट टुंगो लाग्ने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई बताउनु भयो । बुधबार स्याङजा र कास्की बिचको खेलमा जसले जित्छ उक्त टोली प्रदेश स्तरिय क्रिकेटको लिग च्याम्पियन र पराजित हुने टोली उपविजेता हुने भएको उहाँका अनुसार भोलि विहान पहिलो खेल पर्वत र नवलपुर बिच हुने भएको छ । तीन खेलबाट शतप्रतिशत नतिजा निकाल्दै स्याङ्जाले नेट रनरेट +६.०३४५ रहेको छ, जुन प्रतियोगितामा सबैभन्दा उत्कृष्ट हो कास्की महिला टोली पनि लगातार तीनै खेल जित्दै ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । समान अंक भए पनि नेट रनरेट +२.३१४३ भएकाले कास्की दोस्रो स्थानमा परेको हो ।
नवलपुर र पर्वतले समान तीन खेलमध्ये एक–एक खेल जितेका छन्। दुवै टोलीको २–२ अंक रहे पनि राम्रो नेट रनरेटका आधारमा नवलपुर तेस्रो र पर्वत चौथो स्थानमा छन्। चार खेल खेलिसकेको बागलुङ भने अझै जितविहीन छ । लगातार चार खेलमा हार बेहोरेको बागलुङ अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । यसैबिच मंगलबार भएको खेलमा स्याङजाले पर्वतलाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्यो । अर्को खेलमा कास्कीले बागलुङलाई ४३ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।






