विश्व संगीत दिवसको अवसरमा जोजिजु म्युजिक सेन्टरमा सांगीतिक कार्यक्रम

-


     पोखरा क्लिक     
     असार ७ गते २०८३ मा प्रकाशित


पोखरा, असार ७,

विश्वभर जुन २१ मा मनाइने विश्व संगीत दिवसको अवसरमा पोखरास्थित जोजिजु म्युजिक सेन्टरमा समेत विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । संगीतको सार्वभौमिक शक्ति, सिर्जनशीलता र मानव एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रशिक्षक, विद्यार्थी, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सन् १९८२ मा फ्रान्सबाट सुरु भएको विश्व संगीत दिवस हाल विश्वका १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। यस दिन संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, भावना र मानव समुदायलाई जोड्ने शक्तिशाली माध्यमका रूपमा सम्मान गरिन्छ। कार्यक्रममा बोल्दै जोजिजु म्युजिक सेन्टरका संस्थापक, गायक तथा संगीत उद्यमी बिनित जोजिजुले संगीतले मानिसलाई सकारात्मक ऊर्जा, सिर्जनशीलता र एकताको भावनामा जोड्ने बताउनुभयो। उहाँले दुई दशकभन्दा बढी समयदेखि संगीत शिक्षामार्फत नयाँ प्रतिभा उत्पादन गर्ने अभियानमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो। जोजिजुले संगीत सिक्ने विद्यार्थीलाई नियमित रूपमा मञ्च प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने वातावरण सिर्जना गरेको बताउँदै पोखराको सांगीतिक क्षेत्रलाई समृद्ध बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा जोजिजु म्युजिक सेन्टरका प्रशिक्षार्थी तथा नवप्रतिभाहरूले गायन, वाद्यवादन र विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। सहभागीहरूले संगीतलाई मानवताको साझा भाषा भएको उल्लेख गर्दै विश्व संगीत दिवसको महत्वमाथि प्रकाश पारेका थिए।

जोजिजु परिवारले नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। यस परिवारका सदस्यहरूले विभिन्न सांगीतिक विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्दै संगीतप्रेमीहरूको मन जित्न सफल भएका छन्। विशेषगरी कम उमेरमै ड्रम सेट वादनमार्फत चर्चित बनेका उत्प्रेम जोजिजुले बालप्रतिभाका रूपमा पहिचान बनाएका छन्। त्यस्तै भायोलिनवादक सानू जोजिजुले आफ्नो सुमधुर प्रस्तुतिमार्फत सांगीतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै आउनुभएको छ। गायन क्षेत्रमा सक्रिय उत्प्रेरणा जोजिजुले पनि सानै उमेरदेखि आफ्नो प्रतिभा प्रदर्शन गर्दै भविष्यकी सम्भावनाशील गायिकाका रूपमा स्थान बनाउँदै गएकी छन्। जोजिजु परिवारका यी प्रतिभाहरूले संगीतप्रतिको समर्पण, अनुशासन र मेहनतमार्फत नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्नु भएको हो । कार्यक्रमका अवसरमा विश्व संगीत दिवसको शुभकामना व्यक्त गर्दै बिनित जोजिजुले संगीतको माध्यमबाट समाजमा सकारात्मक सोच, सांस्कृतिक संरक्षण र सामाजिक एकता प्रवर्द्धन गर्ने अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने बताउनुभयो। उहाँले भन्नुभयो, “संगीत कुनै भाषा होइन, यो सम्पूर्ण मानवताको साझा भावना हो। संगीतले संसारभरका मानिसलाई एउटै सूत्रमा बाँध्ने शक्ति राख्छ।” विश्व संगीत दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले संगीतप्रति सम्मान व्यक्त गर्नुका साथै नयाँ पुस्तालाई संगीततर्फ आकर्षित गर्ने वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।