
दीननाथ बराल,
पोखरा, ७ असार,
पर्यटनको राजधानि पोखरामा अन्तर्राष्ट्रिय योग दिवस आज (आइतबार) योग शिविर सहित विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । आइतबार पोखरा रंगशाला, फेवाताल किनार, पोखराका पर्यटकीय गन्तव्यहरुमा योग शिविर सहित विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
भारतीय राजदूतावास र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा रंगशालामा आइबतार बृहत योग शिविर आयोजना भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल तथा भारतका विभिन्न उच्चपदस्थ व्यक्तित्व, खेलकुदकर्मी, योग साधक तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पोखरामा योर आरोग्य पर्यटनको अथाह सम्भावना रहेको बताउनु भयो । योगले मानव जीवनलाई स्वस्थ, सन्तुलित र तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो । व्यस्त जीवनशैलीका कारण बढ्दै गएका मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा असन्तुलनको समाधानका लागि दैनिक योग र ध्यान अपरिहार्य रहेको उहाँले बताउनु भयो । “योग शारीरिक व्यायाम मात्र होइन, जीवन जिउने कला हो। शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी योगले मानिसलाई सशक्त, सचेत र नैतिक बनाउँछ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
उहाँले नेपालको भौगोलिक विशिष्टता, आध्यात्मिक परम्परा र हिमालय क्षेत्रसँग जोडिएको योग संस्कृतिले नेपाललाई विश्वकै उत्कृष्ट योग गन्तव्य बनाउने सम्भावना रहेको उल्लेख गर्नुभयो । हिमालयको काखमा ऋषिमुनिहरूले तपस्या गर्दै योग परम्पराको विकास गरेकाले नेपाल योग, ध्यान र आरोग्य पर्यटनका लागि उपयुक्त भूमि भएको उहाँले बताउनुभयो। मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राख्दै ‘गण्डकी स्वजागरण अभियान’ सञ्चालन गरिरहेको र प्रदेशलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो । पोखरालाई योग, ध्यान तथा मानसिक आरोग्य प्रवद्र्धनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न विभिन्न कार्यक्रम अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा अन्तर्राष्ट्रिय योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको ऐतिहासिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेल र योग एकअर्काका परिपूरक विषय भएकाले पोखरा रंगशालामा योग दिवस कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र अनुशासित जीवनशैलीका लागि योगको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यता दिएपछि विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । यस वर्ष पनि “स्वस्थ जीवनका लागि योग” भन्ने सन्देशका साथ पोखरासहित देशका विभिन्न स्थानमा योग दिवस मनाइएको छ ।





